भुइँकटहर खेतीबाट वार्षिक १५ लाख आम्दानी

बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनि कृषि क्षेत्रमा सक्रिय भए ।

अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ । भुइँकटहर खेतीमा लागेपछि उनले यसैबाट मनग्गे आम्दानी गरिरहेका छन् । हाल उनले एक विघामा भुइँकटहर लगाएका छन् । यसबाट वार्षिक १५ लाख आम्दानी हुने गरेको उनले सुनाए । वार्षिक १ लाख खर्च कटाउँदा १४ लाखसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ ।

‘भुइँकटहरको माग राम्रो छ बजारमा भनेको मूल्य पनि पाइन्छ । गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्ने छ’- उनले बताए । उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न । वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ । उनले भुइँकटहर प्रतिगोटा रु १ सयदेखि रु १५० सम्म बिक्री गर्दै आएका छन् ।

भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उनको भनाइ छ । अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि समस्या नभएको उनी बताउँछन् । उनका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक रु १ लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ ।

एउटा विरुवालाई रु १० देखि रु २० सम्ममा बिक्री गर्दै आएका छन् । उनको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप रु ७७ हजार उपलब्ध गराइसकेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय