आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज ‘विकास ऋणपत्र– २०८५’ शीर्षकको ऋणपत्र बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको यो ऋणपत्र बोलकबोल प्रक्रियामार्फत रु १० अर्ब बराबरमा बिक्री गरिँदैछ । यो ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

सो ऋणपत्र धितो राखेर कर्जा लिन वा दिन सकिने व्यवस्था छ । बोलकबोल प्रक्रिया आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ । अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिने र आयकर लाग्ने यो ऋणपत्रको मूलधन (साँवा) भुक्तानी २०८५ साउन ८ गते गरिनेछ ।

खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी दुबै तरिकाले सहभागिता जनाउन सक्नेछन् । ऋणपत्रमध्ये ८५ प्रतिशत अर्थात् रु ८ अर्ब ५० करोड प्रतिस्पर्धी बोलदाताका लागि र १५ प्रतिशत अर्थात् रु १ अर्ब ५० करोड अप्रतिस्पर्धी बोलदाताका लागि छुट्याइएको छ । अप्रतिस्पर्धी भागमा पर्याप्त बोल नपरेमा बाँकी रकम प्रतिस्पर्धीहरूलाई दिन सकिनेछ भने माग बढी भएमा समानुपातिक रूपमा बाँडफाँट गरिनेछ ।

आन्तरिक ऋण उठाउने सरकारको योजना

सरकारले चालु आर्थिक वर्षमा रु ३ खर्ब ६२ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोअनुसार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यही साउनदेखि असोजसम्मका लागि रु १ खर्ब १३ अर्ब बराबरको आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरिसकेको छ । सो अवधिमा कार्यालयले रु १ खर्ब १० अर्ब बराबरका ११ वटा विकास ऋणपत्र बिक्री गर्ने योजना बनाएको छ, जसको अवधि तीन वर्षदेखि ११ वर्षसम्मको हुनेछ ।

यस अतिरिक्त, पाँच वर्षे अवधिको रु २ अर्ब ५० करोडको नागरिक बचतपत्र र रु ५० करोडको वैदेशिक रोजगार बचतपत्र पनि बिक्री गरिनेछ ।

दोस्रो त्रैमासको योजना

चालु आर्थिक वर्षको दोस्रो त्रैमास (कात्तिकदेखि पुससम्म) मा सरकार रु ८५ अर्ब आन्तरिक ऋण उठाउने तयारीमा छ । उक्त रकममध्ये रु २५ अर्ब ट्रेजरी बिलमार्फत र रु ६० अर्ब विकास ऋणपत्रमार्फत उठाइनेछ । त्यस अवधिमा २८ दिनदेखि एक वर्ष अवधिका पाँच वटा ट्रेजरी बिल बिक्री गरिनेछ भने तीन वर्षदेखि १० वर्षे अवधिका छ वटा विकास ऋणपत्र पनि बिक्री गरिनेछन् ।

तेस्रो र चौथो त्रैमासको योजना

माघदेखि चैतसम्मको अवधिमा सरकारले रु १ खर्ब ९ अर्ब बराबरको आन्तरिक ऋण उठाउने योजना बनाएको छ । त्यसमा ट्रेजरी बिलमार्फत रु ५० अर्ब र विकास ऋणपत्रमार्फत रु ५६ अर्ब संकलन गरिनेछ । साथै, सो अवधिमा पाँच वर्षे रु २ अर्ब ५० करोडको नागरिक बचतपत्र र रु ५० करोडको वैदेशिक रोजगार बचतपत्र पनि जारी गरिनेछ ।

अन्तिम त्रैमास (वैशाखदेखि असार) मा सरकार रु ५५ अर्ब आन्तरिक ऋण उठाउने तयारीमा छ, जसमा ११ वटा ट्रेजरी बिलमार्फत उक्त रकम संकलन गरिनेछ ।

सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेटमा कुल रु १९ खर्ब ६४ अर्ब ११ करोडको खर्च प्रस्ताव गरिएको थियो । त्यसमा चालु खर्चतर्फ रु ११ खर्ब ८० अर्ब ५८ करोड, पुँजीगत खर्चतर्फ रु ४ खर्ब ७ अर्ब ६९ करोड, र वित्त व्यवस्थापनतर्फ रु ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ ।

बजेटमा स्रोतको रुपमा रु १३ खर्ब १५ अर्ब राजस्व, रु ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण, रु २ खर्ब ३३ अर्ब बाह्य ऋण र रु ५३ अर्ब अनुदानबाट जुटाउने उल्लेख गरिएको छ । सोहीअनुसार ऋण उठाउने प्रक्रिया अगाडि बढाइएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...