प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्‍नोत्तर हुँदै

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रत्यक्ष प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि राष्ट्रियसभाबाट प्राप्त प्रस्ताव निर्णयार्थ पेश गर्नेछन् ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठन अन्तर्गत मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सहमति’ विषयमा सामान्य छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने तयारी छ ।

साथै, आजै तीनवटा संसदीय समितिको बैठक बस्नेछ । सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक तय भएको हो ।

लेखा समितिले ‘जगदुल्ला जलविद्युत् आयोजना’सँग सम्बन्धित उजुरीबारे छलफल गर्नेछ । साथै, नेपाल सरकारका सचिवहरूसँग संयुक्त बैठकको मिति निर्धारणसम्बन्धी प्रस्तावसमेत राखिएको छ ।

विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ लाई दफावार छलफल गरिनेछ भने सङ्घीयता सबलीकरण समितिले ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय’ अन्तर्गत सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति, समस्या, समाधानका प्रयास र समितिको अपेक्षाबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय