मनोहरामा बाढी रोक्न वाईसीएलको बाँध निर्माण

काठमाडौं । मनोहरा खोला आसपासको सुकुम्बासी बस्तीलाई बाढीको जोखिमबाट जोगाउने प्रयासस्वरूप माओवादी निकट युवा संगठन वाईसीएल नेपालले अस्थायी तटबन्ध निर्माण कार्य सुरु गरेको छ।
योङ कम्युनिस्ट लिग (वाईसीएल) बागमती प्रदेश र सम्पर्क विदेश कमिटीको समन्वयमा मनोहरा पुलदेखि करिब एक किलोमिटर उत्तरतर्फ बाँध बनाउने काम मंगलबारदेखी सुरु भएको हो। वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार यसअघि स्थानीयले ग्याबिन जाली जडान गरेका थिए, तर ती जाली बाढीले बगाएको र खोलाले बाटो फेरेर बस्तीमा पस्न थालेको कारण अहिलेको बाध निर्माणको आवश्यकता महसुस गरिएको हो।
“हामी अहिले बाँसको सहायताले बार लगाउँदैछौं र त्यसपछि बालुवा र गिट्टीले भरिएका बोरा राखेर तटबन्ध तयार गरिरहेका छौं,” ओलीले भने।
बाँध निर्माण अभियानमा वाईसीएल फ्र्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा), माओवादी केन्द्रका बागमती प्रदेशका नेता तथा स्थानीय कार्यकर्ताहरू पनि सरिक छन्।
यो कार्य श्रम तथा उत्पादन अभियान अन्तर्गत भइरहेको हो, जसको शुभारम्भ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउन १ गते गरेका थिए।“यो अभियान केवल भौतिक संरचना निर्माणको लागि मात्र होइन, श्रम र संगठनबीचको सम्बन्धलाई पुनः सुदृढ पार्ने प्रयास पनि हो,” अध्यक्ष ओलीले भने, “हामीले कुनै पनि सरकारी सहयोगबिना आफ्नै पहलमा काम गरिरहेका छौं।”
वाईसीएलले आगामी दुई महिनासम्म यो अभियान विभिन्न स्थानमा विस्तार गर्ने जनाएको छ। मनोहरा खोलामा भइरहेको बाँध निर्माण यस अभियानको प्रारम्भिक उदाहरण बनेको छ।

