आज ४३औं वीपी स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरणमा आज देशभर ४३औं वीपी स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको निधन विसं २०३९ साउन ६ गते भएको थियो। नेपाली साहित्यमा पनि उनले महत्त्वपूर्ण योगदान गरेका छन्। कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ को आमनिर्वाचनपछि २०१६ जेठमा उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। उनका चर्चित उपन्यासमा ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ समावेश छन्। दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ पनि प्रकाशित छन्। साथै हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित भएको छ।
वरिष्ठ अधिवक्ता स्व. गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको अनुभवमा आधारित ‘जेल जर्नल’, र २०३३ सालमा स्वदेश फर्केपछि लेखिएको ‘फेरि सुन्दरीजल’ जस्ता कृतिहरूले तत्कालीन राजनीतिक अवस्था उजागर गरेका छन्। ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा कोइरालाको ‘साहित्यमा प्रगतिशीलता’ निबन्धलगायत रचना पनि प्रकाशित छन्।
जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गर्दै २०१५ सालको आमनिर्वाचनमा दुई तिहाइ बहुमत दिलाएर प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि अग्रसर भूमिका खेले। आफ्नो कार्यकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अघि बढाए।
तर २०१७ पुस १ गते शाही नेपाली सेनाको बलमा जननिर्वाचित सरकार अपदस्त भएपछि कोइरालालगायत नेताहरूलाई सिंहदरबारमा बन्दी बनाइयो। एक महिनापछि सुन्दरीजल बन्दी गृहमा नेता कोइराला, सभामुख कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतलाई लगियो।
२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएपछि कोइरालाले आठ वर्ष भारतमा निर्वासित जीवन बिताए। निर्वासनमा रहँदा प्रजातन्त्रका लागि सङ्घर्ष जारी राखे। २०३३ पुस १६ गते आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किए। उनले ल्याएको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ।
प्रजातान्त्रिक समाजवादका चिन्तक कोइरालाले साहित्यमा नयाँ दृष्टि, आयाम र शैली भित्र्याउँदै नेपाली वाङ्मयलाई उचाइमा पु¥याए। सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते वीपी सङ्ग्रहालयका रूपमा उद्घाटन गरियो। वीपीको जीवनसँग सम्बन्धित वस्तुहरू, २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर र २०२९ सालमा अपहरण गरिएको नेपाल वायुसेवा निगमको विमान समेत संग्रहालयमा राखिएको छ।
वीपी स्मृति दिवसका अवसरमा मुलुकभर कांग्रेस, भ्रातृ संस्था र वीपी सङ्ग्रहालय समितिले कार्यक्रम आयोजना गर्ने जानकारी पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा वीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले बताए।

