खै सुशासन ?
सम्पादकीय
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सबैभन्दा बढी जोड दिने बिषय भनेको विकास,सुशासन र समृद्धि नै हो। हुनपनी देशमा सुशासन कायम भयो भने देशको तिव्र विकास पनि हुन्छ र समृद्ध पनि बन्छ। त्यसैले होला बर्तमान प्रधानमन्त्रीले हरेकदिन सुशासन र समृद्धिमै बढी जोड दिएर भाषण गरेको सुनिन्छ।
तर,नेपाली जनताको लागी सुशासन भनेको केवल सुन्ने मात्रै भएको छ। सुशासन देख्न त अझै बाँकी छ। हरेक दिन घुस प्रकरणमा कर्मचारी समातिने,बिचौलियाको बिगबिगी बढ्ने,सरकारमै सहभागी मन्त्रीका अडियो सार्वजनिक हुने र मन्त्रालय भित्रै लेनदेन भएका घटना मात्रै आइरहेका छन् । यो त पक्कै सुशासन होइन होला ! प्रधानमन्त्रीले बोलेका कुरा पत्याउने कि अखबारमा आएका कुरा पत्याउने ? दुई मध्य एक त सत्य हुनुपर्ने हो। अब जनताले बुझ्नेगरी भन्नुपर्यो, कि प्रधानमन्त्रीले भनेजस्तो सुशासन छ ! वा समाचारमा आएजस्तो सुशासन छैन ।
सुशासन र विकासको सम्बन्ध सकारात्मक हुनुपर्छ ।विश्वका अन्य देशमा हेर्यो भने जहाँ सुशासन छ त्यहाँ विकास र समृद्धि छ। सुशासनको अवस्था मजबुत भएका देशमा विकासको स्तर माथि गएको पाइन्छ भने सुशासनको अभाव भएको देेेशमा विकास र समृद्धिको स्तर खस्किँदै गएको हुन्छ।
नेपालमा योजनाबद्ध विकासको थालनी भएको ६ दशकभन्दा बढी समय व्यतीत भइसकेको छ। तथापि अपेक्षाकृत रूपमा विकास प्रक्रिया सञ्चालन हुन सकेको छैन, जसको प्रमखु कारण विकासका पात्रहरूले सुशासनका आधारभतू तत्त्वको बेवास्ता गर्नु नै हो। त्यसमाथि बेलाबेलामा मन्त्री र कर्मचारीबाटै सुशासनको खिल्ली उडाउने गरि हुने व्यबहार सुखद छैन।खुलेआम हुने भ्रष्टाचार र कमिसनका कुरामा राजनीतिक दलका नेतादेखी बहालवाला मन्त्री र कर्मचारी जोडिनु अत्यन्त लज्जाको बिषय हो ।
पछिल्लो समय आएका मन्त्रीहरुका अडियो प्रकरण र संघीय संसद अन्तर्गतका बिषयगत समितिबाट पारित भैसकेको बिषयमा भएका हेरफेरका घटना निकै लज्जा र खेदजनक छन् । एकातिर प्रधानमन्त्रीले सुशासन र समृद्धिलाई मुख्य मुद्दा बनाएर अघि बढ्न चाहेको बताउनु र अर्कोतिर प्रधानमन्त्रीकै अगाडि मन्त्री र सांसदलाई आरोप लाग्नेगरी लाजमर्दो हर्कत सार्बजनिक हुनु दु:खद हो।
के प्रधानमन्त्रीले भनेको जस्तो सुशासन यही हो त ? खै सुशासन ? यसको जवाफ कसले दिने र कहिले पाउने ?

