सरकार भ्रष्टाचारमा लिप्त छ-प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचारमा लिप्त रहेको बताएका छन् ।

उनले आफूहरुले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरीत गए यसको प्रतिवाद सडक र सदन दुबैबाट गर्ने चेतावनी दिए।

पार्टी निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) को दुई महिने ‘श्रम उत्पादनमा वाइसिएल’ नामक अभियानको बिहिवार ललितपुर सुनाकोठीमा शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको पनि बताए।

‘देश अहिले संविधानको दृष्टिकोणले, गणतन्त्रको दृष्टिाकोणले, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा छ। अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि छैन। सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रुपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ,’ उनले भने।

उनले वाइसीएलका सदस्यले जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्न पनि आग्रह गरे।

वाइसीएलले साउन १ देखि भदौ ३० सम्म देशभर यो अभियान चलाउने अध्यक्ष पुष्प ओलीले बताए। यो अवधीमा श्रम अभियान जिल्ला समितिको संयोजनमा स्थानिय तह केन्द्रित हुने र सबै जिल्ला र प्रदेशहरूले एक-एकवटा नमूना श्रम तथा उत्पादनमा जोडिनेगरी जनताको माझमा देखिनेगरी देशैभरि ९३ वटा नमूना काम सम्पन्न गर्ने वाइसीएलले जनाएको छ।

श्रमदान गर्दा स्थानीय तह र सहीद, बेपत्ता तथा घाइते अपांगका परिवारसँग जोडिएर गर्ने,श्रमदान र उत्पादनमा आधारित कामहरू वृक्षारोपण, सरसफाई, बाटोघाटो निर्माण, चौतारो निर्माण ,  पुल पुलेसा निर्माण, धान रोपाईं र गोडमेल लगायतका कार्यहरु हुने अध्यक्ष ओलीले बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय