काँग्रेसमा माओवादीभन्दा आफ्नै पीडादायी
मनोज कुमार कर्ण
नेपाली काँग्रेस दलले हालसालै करीब डेढ दर्जन नेता तथा कार्यकर्तालाई गत २०७९ काे निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराएकाे भनी अनुशासनकाे कारवाही स्वरुप विभिन्न समयावधिकालागि अलग-अलग किसिमले साधारण सदस्यतासमेत नरह्ने गरि निलम्वन गरेकाे छ । याे कारवाही त्यस समयमा गरिएकाे छ जुनबेला काँग्रेसमा समयमा नै महाधिवेशन गराईयाेस् भन्ने माग डा. शेखर काेईराला समूहबाट जाेडताेडका साथ उठाईंदैछ ।
भनिन्छ, यस कारवाहीमा काेईराला पक्षधर नै अधिकाँश पारिएकाे छ । याे लेख समग्रमा कारवाही गर्नु पर्थ्याे कि नाईं, पर्थ्याे भने कस्तामाथि, त्याे जायज छ कि छैन, यसले पार्टीलाई कस्ताे असर पार्ला, कारवाहीले हारेका भनिएका उम्मेदवारकाे क्षणिक मनशान्ति भएपनि न्याय संगत हाेला त जस्ता आदि विषयमाथि छाेटकरीमा दृष्टान्तसहित उल्लेख गर्छ ।
काँग्रेस नेतृत्वले यस्तालाई के भन्लान् ?
शायद २०५७ सालमा हाे, दुराडाँडा, लम्जुङमा आज पाणिनी संस्कृत माविका प्रअ हुनुभएका म्याथ, सायन्सका शिक्षक मुक्तिनाथ अधिकारीलाई भाेली नै माओवादीकाे नाममा आतंकवादीहरूले हत्या गरे । उनले सर्वाेदय माविमा पढाएका विद्यार्थी दस वर्षकाे उमेरदेखि नेवि संघ बनेका तर कहिल्यै सक्रिय राजनीतिमा नआई आजीवन शिक्षण पेशामा मर्यादित भई लागेका एकजनालाई माओवादी नामक आतंकवादीहरूले कहिले दर्जनाैंकाे संख्यामा भात खुआ भन्ने अनि फेरि चन्दा ल्या, सुराकी गरिस् भनेर रातरातभरी दुवै हात बाँधेर जंगलमा अन्धकारमा डुलाउँदै गालामा हिर्काउने र माओवादीकाे मञ्चबाट “माओवादी जिन्दावाद”काे नारा लगाउन बाध्यपार्नेले न्युनतम् उमेरमा अवकाश प्राप्त लिने जस्ता हजाराैं काँग्रेसीजन नेपालमा पीडित छन् । कसैकाे जमीन खाेसिएकाे छ भने कसैकाे प्रतिष्ठा भने कसैकाे सुखचैन अनि के-के ।
माओवादी आतंक २०६३ वैशाख ११ गते नेपालमा लाेकतन्त्र आएपछि समाप्त भएकाे सत्य हाेईन अपितु साेपछि पनि गैह्रमाओवादीले ज्यान, जमीन, धन, माल, स्वाभिमान, घरकाे ईज्जत गुमाएका छन् । के काँग्रेसका शीर्ष नेता कहलिने शेरबहादुर देउवा, उनका परिवारजन, गणेशप्रवृत्तिका चाकडीवाला केही नेताले माओवादीकाे अगाडि यी कुराहरू गुमाएका छन् ? यदि छैन भने देउवाले माओवादी वा एमालेसँग अलायन्स आफ्नाे सत्तास्वार्थमा बनाउँदा लम्जुङ दुराडाँडाका र उनकाे जस्ताे पीडित देशैभरका नेता, कार्यकर्ता र मतदाताले किन माओवादीलाई भाेट हाल्ने ? माओवादीबाट पीडित भई माओवादीलाई भाेट हाल्ने हुन्छ ? वा, जसबाट पीडित हुने उसैलाई स्वागत गर्नेपनि हुन्छ ? अनि भाेट नहाल्नेलाई अनुशासनकाे कारवाहीकाँग्रेसले गर्ने याे दुर्मति कस्ले सभापति देउवालाई दियाे वा, दिने तीनिहरूकाे निहित स्वार्थ जनतामाझ प्रष्ट पार्नुपर्छ ।
चुनावमा टिकट वितरण पक्षपातपूर्ण
२०७२ सालकाे संघीय लाेकतान्त्रिक गणतन्त्रकाे संविधानपछि वर्तमान निर्वाचन प्रणालीमा कुनै एक दलले स्पष्ट बहुमत नल्याउने भनिन्छ । तर याे भनिंदैन कि यस संविधानभन्दा अघि साल २०६४ र साल २०७० काे संविधानसभा चुनावहरूमा क्षेत्रीय मधेशवादी र अन्य साना दलहरूले समावेशीमूलक उल्लेख्य सीट संसदमा जित्दा ठूला भनिएका परम्परागत र नयाँ ठूला दल क्रमश: काँग्रेस, एमाले र माओवादीका नेताहरूमा कति भित्रभित्रै जलन पैदा भएर हालकाे निर्वाचन पद्धती ल्याए । अर्थात्, ठूला दलकाे नियतमै खाेट भएर वर्तमान चुनाव प्रणाली अपनाईयाे ताकी मधेशमा अधिक जनसंख्याकाे प्रावधानले सांसदकाे टाउकाे संख्या घट्ने भई नयाँ निर्वाचन क्षेत्र (Delimitation) बाट मधेशी सांसदहरू हार्नेछन्, यद्यपि यस चुनावी प्रणालीमा समानुपातिक समावेशी, खुला आदिकाे राम्रा प्रावधानपनि छन् ।
स्वभाविक हाे कि देशैभर डिलिमिटेशन अर्थात्, निर्वाचन क्षेत्र परिवर्तनद्वारा संख्या घटाईंदा साँसद बन्ने माैका २०६४ र २०७० का निर्वाचनहरूभन्दा कमले पाउने भए । त्यसमाथि ठूला भनिएका दलका नेताहरूले २०६२ सालपछि परिवर्तनकाे स्पिरिट अनुसार संघीय लाेकतान्त्रिक गणतन्त्रकाे पक्षमा, विकास र राेजगार सिर्जनाकाे पक्षमा काम लगभग नगर्दा पपुलारिटी आफूहरूकाे घटेकाे तर सरकार बनाउने, प्रधानमन्त्री वा प्रमुख प्रतिपक्षी दलका नेता बनिरह्ने “दबाव” वा लालचमा परिरहन्छन् । यी संख्या कम हुने तर सरकार बनाउने तथा प्रमुख प्रतिपक्षमा बस्ने माथिका दुई प्रमुख कारणले गर्दा दलका शीर्ष नेताहरूलाई जसरी पनि संसदीय दलकाे नेता बन्न “जरूरी” भएर टिकट वितरणमा आफ्ना पक्षीय, चन्दादाता आदिलाई दिएर धाँधली गर्न बाध्य पार्छन् ।
जे जस्ताे कारण भएपनि कम्तिमा साल २०७४ र २०७९ का निर्वाचनमा दलका शीर्ष नेताहरूले क्षेत्रमा नेता तथा कार्यकर्ताकाे मनाेदशा, दलप्रति समर्पण र लगावलाई नविचारीकन विगतका सामान्य प्रतिस्पर्धी दलदेखि दुश्मन आफूलाई करार गरेका दलसँग समेत हठात् अलायन्स गर्ने गरेकाले काँग्रेसप्रति समर्पित भाेटर र चुनावमा टिकट नपाएका अधिकांशले “अलायन्स नीति” मन नपराएका हुन् । याे अवज्ञा अन्य दल र अलायन्समा पनि भयाे । अलायन्सले अमुक नेतालाई प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता र संसदीय दलका नेता त दिलाएका छन् तर अलायन्स “लागू गराउन” तानाशाही लाद्ने शर्तमा । वा, याे भनाैं कि भारतमा जहाँ कंग्रेस आईले I.N.D.I.A. अलायन्समा २० वटा करिब दल र बीजेपीले N.D.A. मा २७-२८ दलकाे अलायन्स हाँक्ने खाेपडीमा गिद्दी राखेर सन्तुष्ट राख्छन् सबैलाई अनि ५ वर्ष सरकारपनि चलाउँछन्, त्यहाँ नेपालका अल्पबुद्धिवाला नेताहरूले आफ्नै दलका नेता र कार्यकर्तालाई पनि अलायन्सपछि सम्हाल्न सक्दैनन् ।
आजकाे दिनमा काँग्रेसकाे २०७९ काे चुनावमा गरेकाे अलायन्सलाई “उल्लंघन” नगरेकाे भए स्वतन्त्रमार्फत् पुन: काँग्रेस भएका जनकपुर उपमहानगरपालिकाकाे मेयर मनाेज साहकाे ठाउँमा काेही जसपा नेपालका पात्र हुन्थे । यस्ता धेरै ऊदाहरणहरू छन् । तर जनकपुरधामकै ऊदाहरणमा काँग्रेसका हेवी-वेईट नेता मान्य विमलेन्द्र निधिलाई कमजाेर बनाउनकै लागि काँग्रेसप्रति केही गद्दार कथित् पार्टी पदाधिकारीकाे गलत सल्लाहमा सभापति र प्रदेश सभापतिहरूले जनकपुरकाे मेयरकाे टिकट जसपाकाे भागमा पारेका थिए । यस्ताेमा अनुशासनकाे कारवाही मेयर मनाेज साह र उनलाई सहयाेग गर्ने आम नेता तथा कार्यकर्तालाई काँग्रेसले गर्ने कि उनी जस्ता जित्ने र मान्य निधिप्रति रिस साँधेर पार्टीलाई धनुषा, महाेत्तरीतिर कमजाेर पार्न भाेट अन्त हाल्न भनेर धरातल खस्काउन सभापति शेरबहादुर देउवालाई उचाल्ने गद्दारहरूमाथि गर्ने ? हाे, यस्तै-यस्तै खेल डा. शेखर काेईराला र अन्य जाे सभापति देउवाकाे मन परेनन्, उनीहरूकाे क्षेत्रमा पनि भएका छन् । नबिर्साैं कि सर्लाहीमा डा. अमरेश सिंहलाई स्वतन्त्र बनी जित्ने र काँग्रेस छाेड्न बाध्यपार्ने काँग्रेसकै महामन्त्री गगन थापा हुनुहुन्छ तर महामन्त्री थापाकाे कुरा आज देउवासँग मिल्छ अनि डा. अमरेश सिंहजस्ताे मधेशका एक उदाउँदाे फायरब्राण्ड गुमाउनेमाथि देउवाले के कारवाही गर्नुभयाे ?
कारवाही बरु यस्ताहरूलाई गरियाेस्
संक्षिप्तमा उल्लेख गर्नुपर्दा एकजनालाई आजीवन संसदीय दलकाे नेता र प्रधानमन्त्रीकाे लागि अगाडि सार्ने स्वार्थमा अप्राकृतिक गठबन्धन (कि ठगबन्धन भन्ने किनकि २०७९ काे चुनावपछि माओवादीसँगकाे अलायन्समा काँग्रेस ठूलाे दल भएपनि सरकार भने माओवादीले ठगेर बनाउँदै आएकाे हाे) बनाउनेले कि सबैलाई चित्त बुझाउनुपर्याे कि विद्राेह भए मिश्रित परिणाम स्विकारेर अब हठ छाेडेर आम काँग्रेसी कार्यकर्ता र मतदाताकाे ईच्छाले नेतृत्व आफूले ड्राइव हुनदिनुपर्याे । के काे कारवाही ? गुटबन्दी गरेर संसदीय दलमा नीजि बहुमत पुर्याउनलाई कार्यकर्तामा भिजेकालाई टिकट नदिई कमजाेर धरातल वा गुटकाे मात्र पक्षपाेषण गर्नेलाई जहिले नि टिकट दिने, अरूकाे पालाे नै नआऊने जीवनमा अनि विद्राेह भयाे भने कारवाही ? याे विद्राेहकाे अवस्था किन आयाे ? यसका कारक जतिलाई कारवाही हुने कि नहुने ?
हाल देशैभरी नव दलहरू बन्दै छन् । कार्यकर्तामा भ्रम छरेर, तानेर ल्याउने हाेडबाजी नव दल र पुरानाले एक अर्काबाट गरिरहेका छन् । यस्ताेमा काँग्रेसले घर बलियाे बनाउन, कम्युनिस्ट जताबाट पनि धाेखा नै खानुपरेकाे अनुभवले जे भयाे, भयाे अब विद्राेह नहुने गरि सबैलाई समेटेर लाने वातावरण पाे निर्माण गर्नुपर्छ । कारवाही भनिएकाहरूलाई कारवाही फिर्ता भएकाे निर्णय हुनुपर्छ । एमालेमा अनुशासनकाे कारवाहीभएकाे दृष्टान्त दिनेहरूले एमालेमा केपी ओलीकाे तानाशाहीपनि कति बढ्याे र आज माधव नेपाल, भीम रावल, वामदेव गाैतम, झलनाथ खनाल आदिहरू कहाँ छन्, त्याे पनि बताउनसक्नुपर्याे । अरूलाई कारवाहीमा पारेर शीर्ष नेताका फेर समातेर हिंड्ने, कहिल्यै चुनाव जित्न नसक्ने “गणेश”हरूले बसी-बसी नेतृत्व हत्याउन खाेजेका हुनसक्छन् । सक्नेछन् पनि हाेला तर त्यसताहरू कार्यकर्तामा नभिजेका हुनाले पार्टीलाई डुबाउनेमा कुनै शंका छैन ।
काँग्रेसले यदि कारवाही नै गर्ने हाे भने दुराचार, भ्रष्टाचार, विभिन्न काण्डमा घाेटाला गरेका, सर्टिफिकेट जाली प्रयाेग गरेका, भिजिट भिसामा मानवतस्कर गरेका आदिमाथी गर्नुपर्छ । पटकपटक अवसर पाएर पनि स्वयं हार्ने तर पार्टीले विकल्पमा दलकै अरूलाई उम्मेद्वार बनाउँदा हराउनेलाई पाे कारवाही गर्ने हाे ।
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

