धरानको चिन्डेडाँडामा पर्यटकको भीड, गर्मीयाममा चहलपहल तीव्र

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडामा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ। रमणीय दृश्यावलोकन तथा छोटो हाइकिङको लागि उपयुक्त मानिने यो डाँडा हाल पूर्वी नेपालकै चर्चित गन्तव्य बन्न थालेको छ।

धरान, इटहरी, झापा, चितवन र काठमाडौंबाट दैनिक सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन्। बेलायतबाट घर फर्किएका धरानका सुदीप श्रेष्ठले पहिले नाङ्गो देखिने डाँडा अहिले पर्यटकमैत्री गन्तव्यमा परिणत भएको बताए। पहिलोपटक चिन्डेडाँडा पुगेकी इटहरीकी सुशीला राईले गर्मीयामको रमाइलो वातावरण निकै मन परेको प्रतिक्रिया दिइन्।

धरान बजारबाट करिब १५–२० मिनेटको सवारी दूरीमा रहेको यो डाँडामा दुई दशकयता उल्लेख्य पर्यटन गतिविधि बढेको स्थानीयले बताएका छन्। पहिले प्याराग्लाइडिङ सञ्चालन हुने यो ठाउँमा अहिले दर्जनौँ होटल र खाजाघर खुलेका छन्। स्थानीय व्यवसायी लक्ष्मी तामाङका अनुसार गर्मीयाममा दैनिक करिब ३०० पर्यटक चिन्डेडाँडा पुग्ने गर्छन्। पर्यटकहरू लोकल मासु, सुकुटी, तोङ्बा लगायत परिकारहरू रुचाउने गरेका छन्।

व्यवसायी बसन्ती तामाङले चिन्डेडाँडा छोटो घुमफिरका लागि उपयुक्त भएकाले अधिकांश पर्यटक दुई–चार घण्टा बसेर फर्किने बताए। सडक कच्ची भएकोले वर्षा र जाडोमा यात्रामा कठिनाइ हुने गुनासो व्यवसायीहरूले गरेका छन्। तर सर्दुखोलामा पुल बनेपछि केही सहज भएको बताएका छन्।

डाँडा पहिलेदेखि नै ‘रमितेडाँडा’ भनेर चिनिने गरेको हो, जहाँबाट पहाड र तराईको मनमोहक दृश्य हेर्न सकिन्छ। यहाँ तामाङ, गुरुङ, राई, क्षेत्री, ब्राह्मण समुदायको बसोबास छ। केही माथि भ्यूटावर र एड्भेन्चर पार्क पनि सञ्चालनमा छन् भने नजिकै होमस्टे सेवा पनि उपलब्ध छ।

धरानका नगरप्रमुख हर्कराज साम्पाङको अगुवाइमा यहाँ सुम्निमा–पारुहाङको प्रतिमा निर्माणको तयारी भइरहेको छ। प्रतिमा बनेपछि चिन्डेडाँडाले थप धार्मिक र पर्यटकीय महत्व पाउने अपेक्षा गरिएको छ। स्थानीयले सडक सुधार, पूर्वाधार विकास र प्रचारप्रसार भएमा चिन्डेडाँडा धरानकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...