विद्या भण्डारीको पक्षमा खुल्दै एमाले नेताहरू

काठमाडौं । आगामी महाधिवेशनबाट नेकपा एमालेको पुनःअध्यक्ष बन्ने केपी शर्मा ओलीको चाहना विपरीत नेताहरू इतर पक्षमा खुल्न थालेका छन् ।
एमालेमा तेस्रो कार्यकालको लागी अध्यक्ष बन्ने र ०८४ पछि पनि आफैं प्रधानमन्त्री हुने दाउमा अध्यक्ष ओली रहेका छन् । तर, अध्यक्ष ओलीलाई चुनौती दिनेगरि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएपछि अहिले एमाले नेताहरू विद्याको पक्षमा खुल्न थालेका छन् । ओलीले पेलेका र पछिल्लो समय ओलीको कार्यशैलीमा फरकमत राखेका नेताहरू अब विद्याको पक्षमा खुलेरै लाग्ने देखिन्छ।
एमालेको बर्तमान पदाधिकारी टिममै पनि अध्यक्ष ओली अल्पमतमा परेको बुझिएको छ। बरिस्ठ उपाध्यक्ष ईश्वर पोख्रेल त ओलीको विकल्प खोज्नेमा खुलेरै अगाडी आएका छन् । अन्य नेताहरू पनि ओलीको विपक्षमा छन् तर, बोल्न डराइरहेका छन् । यद्यपि यो बिषयमा नेताहरूले अझै कित्ता स्पष्ट गरेका चाहिँ छैनन् ।
स्रोतका अनुसार उपाध्यक्ष सुरेन्द्र पाण्डे,युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ओलीको विकल्प खोज्नेमा छन् । अर्का उपाध्यक्ष बिष्णु पौडेल पनि ओलीसँग खुशी छैनन् तर,विद्याको पक्षमा खुल्ने कुरामा दोधारमा छन् । उपाध्यक्ष रामबहादुर थापा चाहिँ एमाले- माओवादी एकता र पछि अलग हुँदा एमालेमा रहेका कारण र त्यतिबेला ओलीले गुन लगाएको भन्दै ओलीको पक्षमा नै देखिन्छन् ।
त्यसैगरी नेताहरू पृथ्वीसुब्बा गुरुङ,रघुवीर महासेठ,योगेश भट्टराई,गोकर्ण बिष्ट,कर्ण थापा पनि विद्याको पक्षमा देखिन्छन् । यद्यपि केही नेताले अझै मुख खोल्न चाहिँ आँट गरेका छैनन् । शेरधन राई,डोरमणी पौडेल,केसब स्थापित,गोकुल बाँसकोटा लगायत नेतापनी विद्याको राजनीतिक सक्रियतालाई समर्थन गरिरहेका छन् ।
मदन भण्डारीको ७४ औं जन्मदिन मनाइरहेका बेला गत असार १४ गते विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्केको घोषणा गरेपछि एमाले नेताकार्यकर्ता अहिले ओली र विद्याको पक्ष विपक्षमा कित्ताकाट गरिरहेका छन् । पार्टी भित्रैबाट कतिपयले विद्यालाई राजनीतिमा फर्किन नमिल्ने भनिरहेका छन् भने केहीले अध्यक्ष बन्न नमिल्ने भनिरहेका पनि छन् ।

