पोखरामा ४ करोड ६४ लाख खर्चेर वडाको भवन

कास्की । कास्की र म्याग्दीमा करोडौँ रुपैयाँ खर्चेर वडा कार्यालय भवन निर्माण गरिएको छ।
कास्कीमा चार करोड र म्याग्दीमा एक करोड रुपैयाँ खर्चेर वडा कार्यालय भवन निर्माण गरिएको हो। पोखरा महानगरपालिका–५ को सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गर्दा चार करोड ६४ लाख रुपैयाँ खर्च भएको छ। करोडौँ रुपैयाँ खर्चेर वडा कर्यालयको चारतले भवन निर्माण गरिएको हो।
वडाध्यक्ष विष्णुप्रसाद बरालका अनुसार भवन निर्माण गर्न रु सात करोड २६ लाख ६४ हजार ६२३ लाग्ने अनुमान गरिएको थियो। चार करोड ८४ लाखमा निर्माण सम्झौता थियो।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले महानगरका ३३ वटा वडामध्ये अब दुई वटा वडामा मात्र भवन बन्न बाँकी रहेको बताएका छन्।
त्यसैगरि म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण गरिएको छ।
दुई तले भवनमा नौ कोठा छन्। भूकम्पप्रतिरोधी क्षमताको भवन निर्माण गरिएको रघुगङ्गा गाउँपालिका–१ का वडाध्यक्ष विलप्रसाद फगामीले जानकारी दिए।
साविक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गरेको दुई आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण गरिएको हो।
आठ वटा वडा रहेको रघुगङ्गाको यसअघि वडा नं ५ झिँ, वडा नं २ भगवती, वडा नं ६ पाखापानीको कार्यालय भवन निर्माण भएको थियो। वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालन भएको छ। मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ। रासस

