पूर्व-पश्चिम राजमार्गको विनयी खोला पुलमा आजदेखि गाडी चल्ने

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्वको दुम्कीबास विनयी खोलामा पुल निर्माणको काम सकिएको छ। यहाँ पुल नहुदा डाइभर्सनको भर थियो।

पुल निर्माण सम्पन्न भएसँगै विनयी खोलाको पुल आजदेखि सञ्चालनमा आउने भएको छ । पुल कालोपत्र गरेर लाइनिङ गरिएसँगै पुलबाट गाडी चल्ने नारायणगढ-बुटवल सडक आयोजनाले जानकारी दिएको छ । यसअघि पुरानो पुल गएको पुस अन्तिम हप्ता भत्किएपछि डाइभर्सन बनाएर गाडी चल्दै आएका थिए ।

फलामे पुल भाँचिएपछि मालवाहक ट्रकहरू डाइभर्सनमार्फत तथा साना तथा यात्रुवाहक गाडी वैकल्पिक मार्ग होङ्शी गेट-सर्दी हुँदै दाउन्ने वारपार गर्दै आएका थिए । तर डाइभर्सन निरन्तर बाढीले बगाउने समस्या हुँदा सास्ती थियो ।

सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले निर्माण सम्पन्न पुल बिहिवारदेखि सञ्चालन गर्ने गरी अन्तिम तयारी भइरहेको जानकारी दिए। त्यस्तै दाउन्ने क्षेत्रमा सडक विस्तारको काम पनि भइरहेको छ ।

विनयी खोलामा पुल बनेपछि केही सहज भए पनि दाउन्नेमा काम पूर्ण नहुँदासम्म यात्रुले समस्या झेल्नुपर्ने अवस्था छ । वर्षा लागेपछि हिलो र लेदोले गाडी चिप्लिएर यात्रामा कठिनाइ हुने गरेको छ। कहिलेकाहीँ यो ठाउँमा पहिरो समेत जानेहुँदा पानीपरेको बेला यात्रा गर्न जोखिम थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय