बुढी गण्डकी,एनसेल,शरणार्थी लगायत सबै प्रकरण छानबिन गरौं- भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेसम्म प्रश्न उठेका सबै प्रकरणमा छानबिन हुनुपर्ने माग गरेका छन् ।
सरकारले पछिल्लो समय भिजिट भिसा प्रकरणमा गठन गरिएको छानबिन समितिलाई हास्यस्पद भन्दै भट्टराईले त्यसको आलोचना समेत गरेका छन्। उनले सामाजिक संजालमा लेख्दै पूर्व मुख्यसचिव नेतृत्वको छानबिन समितिले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलहरूको भ्रष्ट हर्कत उजागर गरेको बताएका छन्।
डा.भट्टराईले २०५२ को जनयुद्ध अघि यस्तै पाखण्डको विरोध गरेको स्मरण गराउँदै अहिले पनि तीन ठूला दलले जनताको बुद्धिमाथि खेलबाड गरेको आरोप समेत लगाएका छन् । उनले लेखेका छन् ,-‘एनसेल, बुढीगण्डकी, ६० किलो सुन, भुटानी शरणार्थी लगायत सबै ठूला काण्डको स्वतन्त्र र निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा कारबाही गरौं ।’
उनले भनेका छन्-‘चर्चित भिजिट भिसा प्रकरणमा एक जना पूर्व प्रमुख कर्मचारीको नेतृत्वमा वहालवाला कनिष्ठ कर्मचारीहरू भरेर बनाएको हास्यस्पद ‘छानवीन समिति’ ले सत्ताधारी र प्रमुख प्रतिपक्षी दल/नेताहरूको राज्यदोहनकारी र छलकपटपूर्ण हर्कतलाई पूरै उदांगो पारेको छ।
जनयुद्ध शुरू गर्नु पहिले हामी तत्कालीन राजतन्त्र सहितको संसदीय प्रणालीको यस्तै पाखण्डी हर्कतलाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल’ भनेर भण्डाफोर गर्थ्यौं र जनताको वास्तविक सहभागितामूलक लोकतान्त्रिक गणतन्त्रको पैरवी गर्दथ्यौं।
तर आज जनताको त्यत्रो बलिदानीपूर्ण संघर्षपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमा दुई ‘पुराना जोगी’माथि एक ‘नयाँ जोगी’ थपिएर उस्तै पाखण्डपूर्ण हर्कत गर्छन् र जनताको सहज बुद्दि ( कमन सेन्स) माथि समेत खेलबाड गर्छन् भने त्यो नेपाली जनता र वैकल्पिक राजनीतिक शक्तिहरूलाई मान्य हुन सक्दैन।
अब भिजिट भिजा प्रकरण मात्र हैन यी तीन ठुला टाउका संलग्न ठानिएका एनसेल प्रकरण, बुढीगण्डकी प्रकरण, साठी किलो सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु प्रकरण लगायत सबै ठूला भ्रष्टाचार काण्डहरूको शक्तिशाली,उच्चस्तरीय, स्वतन्त्र, निष्पक्ष संयन्त्र मार्फत छानवीन गरिनुपर्छ र दोषीहरूलाई हदैसम्मको कार्वाही गरिनुपर्छ ।’

