काठमाडौं ३ मा नेसपा नयाँ शक्तिको ध्यानाकर्षण

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ ले यस क्षेत्रमा रहेका स्थानीय तहमा शुक्रबार ध्यानाकर्षण पत्र बुझाएको छ।
नेसपा(नयाँ शक्ति) काठमाडौं ३ का संयोजक डा.शेखर अर्यालले गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल,कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्की र कामपा वडा नम्बर-६ का अध्यक्ष भुवन लामालाई कार्यकक्षमा नै भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
वडा नम्बर-६ मा नेसपा(नयाँ शक्ति) केन्द्रीय सदस्य मनबहादुर लामा समेत सहभागी भएर ध्यानाकर्षण पत्र बुझाइएको संयोजक अर्यालले परेवान्युजलाई बताए।

नेसपा (नयाँ शक्ति)को तर्फबाट बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ,-‘हाम्रो पार्टी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निर्वाचन क्षेत्र नं. ३ को सचिवालय बैठकले यस स्थानीय तहको आउँदो नगर/महानगर परिषदमा प्रस्तुत हुने नीति र त्यसपछि बन्ने बजेट कार्यक्रममा आमजनसरोकार र जनचासोका सन्दर्भमा उठ्ने गरेको निम्न विषयहरूतर्फ हाम्रो पार्टीको विशेष ध्यान गएको छ ।
यस सन्दर्भमा निम्न विषयहरूमा ध्यान केन्द्रीत गरी आगामी वर्षको नीति र बजेट कार्यक्रममा यी विषयहरू समावेश होस् भन्ने सुझावसहित नीति तथा बजेट तयार गर्ने महानगरको बजेट समिति र महानगरपरिषदको विशेष ध्यानाकर्षण गराउन चाहन्छौ ।’

ध्यानाकर्षणका विषयहरू
१) विश्वसम्पदा सूचीमा परेको बौद्धनाथ स्तूपलाई विश्वसम्पदा सूचीले भनेबमोजिम पर्यटकीय स्थलमा परिणत गर्न आवश्यक पर्ने सम्पूर्ण काम, कारवाही तुरुन्त बजेट मार्फत् अगाडि बढाइयोस् ।
२) नगरबासीहरूलाई नैतिकता र इमान्दारीताको कक्षा सञ्चालन गर्ने गरीकन बजेट विनियोजन गरियोस् ।
३) स्वास्थ्य, कृषि, शिक्षा, खेलकुद, फोहोर व्यवस्थापनको लागि उचित बजेट विनियोजन गरियोस् ।
४) कर प्रणाली र ठेक्का प्रणालीलाई तुरुन्त डिजिटल माध्यमबाट गर्नको लागि बजेट विनियोजन गरियोस् ।
५) सडक निर्माण, ढल व्यवस्थापन, बिजुलीको लाइन व्यवस्थापन, इन्टरनेट र टेलिफोन लाइन व्यवस्थापन र खानेपानी व्यवस्थापन एउटै च्यानलबाट सञ्चालन गर्ने गरीकन बेजट विनियोजन गरियोस् ।
६) सुकुम्बासीहरूलाई कम्तीमा ८ आना जग्गा दिने व्यवस्थाको उचित बजेट विनियोजन गरियोस् ।
७) ज्येष्ठ नागरिकहरू, अपाङ्ग असहाय व्यक्तिहरू, एकल महिलाहरूका लागि गाँस, बास, कपासको व्यवस्था हुने गरी बजेट विनियोजन गरियोस् ।
८) समाजको अभिमूखीकरणको विशेष अभिभारा बोक्ने महिलाहरूलाई वार्षिक २ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना हुने कृषि, उद्योगधन्दा आदिको सञ्चालन गर्नको लागि उचित बजेटको व्यवस्था गरियोस् ।

