इरान र इजरायलबीच दुईतर्फी आक्रमण जारी

एजेन्सी । इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी छ। इजरायलमाथि इरानले गरेको पछिल्लो मिसाइल आक्रमणमा एक महिला मारिएकी छन् भने दर्जनौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

इजरायलको आपतकालीन स्वास्थ्य सेवा संस्था ‘मगेन डेभिड एडोम’का अनुसार तेल अविभ क्षेत्रमा ६० वर्षीया महिलाको ज्यान गएको हो। यसै क्षेत्रका २० जना मानिसहरु सामान्य र मध्यम घाइते भएका छन्।

यसैगरी इरानका तेल मन्त्रीले इजरायलले सहारा तेल डिपोटमा आक्रमण गरेको जानकारी दिएका छन्।

यसअघि ‘टाइम्स अफ इजरायल’ले इरानको अघिल्लो आक्रमणमा इजरायलको उत्तरी भागमा पाँच जनाको मृत्यु भएको जनाएको थियो।

इरान र इजरायलबीच आक्रमण–प्रत्याक्रमण जारी रहँदा अमेरिकी अधिकारीहरु चिन्तित देखिएका छन्। अमेरिका युद्धमा तानिन सक्ने डर रहेको विश्लेषकहरुले बताएका छन्।

जर्जटाउन विश्वविद्यालयका सुरक्षा विशेषज्ञ डेबिड फिलिप्सका अनुसार, “अमेरिका इजरायलको पक्षमा देखिएर युद्धमा मुछिने डरमा छ। यो युद्ध फैलिएर अमेरिकी सैनिक र ठाँउहरु समेत प्रभावित हुन सक्छन् भन्ने चिन्ता बढेको छ।”

इरानका राष्ट्रपति मसुद पजेस्कियानले इजरायली हमला नरोकिए अझ भीषण आक्रमण गर्ने चेतावनी दिएका छन्। दुवै पक्षबाट हमला जारी रहेको समयमा आइतबार हुने भनिएको अमेरिका र इरानको आणविक वार्ता पनि स्थगित भएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय