माधव नहुँदा एकीकृत समाजवादीको कमान्डर को ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि अब त्यसमुद्दाको छिनोफानो नहुदासम्म पार्टी हाँक्ने जिम्मेवारी कसले पाउला ?
स्वभाविक हिसाबले अध्यक्ष सक्रिय नहुँदा वरिष्ठ उपाध्यक्षले नै पार्टी सम्हाल्नुपर्ने हो। एकीकृत समाजवादीमा अहिले बरिस्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे छन् । माधव नेपाल विदेश भ्रमण जाँदा कार्यवाहक अध्यक्ष राजेन्द्रले नै पाउने गरेका छन् । ६९ बर्षिय पाण्डे अध्यक्ष नेपालका विश्वासपात्र पनि हुन् । २०४८ सालदेखि धादिङबाट प्रतिनिधि सभा निर्वाचन जित्दै आएका पाण्डे वाग्मतीका पुर्व मुख्यमन्त्री पनि हुन् ।
त्यसोत अध्यक्ष नेपाल विरुद्ध मुद्दा दायर भएलगत्तै सम्मानित नेता झलनाथ खनालले पार्टी नेतृत्व दावी गरिरहेका छन् । पछिल्लो समय अध्यक्ष नेपाल बाहेक अर्को गुट चलाइरहेका पुर्व प्रधानमन्त्री खनाल यस्तो बिशेष परिस्थितिमा पार्टी हाँक्ने कमान्डर बन्न किन चाहन्छन् ? उनले अध्यक्ष माथी मुद्दा लाग्दा वा कुनै परिस्थिति जन्य अवस्थामा पार्टीले जो कसैलाई नेतृत्व दिन सक्ने तर्क समेत गर्दै आएका छन् ।
२०६१ माघ १९ पछी तत्कालीन अवस्थामा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएर मुख्य नेताहरूलाई नजरबन्द गरेको समयमा पनि एमालेको जिम्मेवारी झलनाथले सम्हालेका थिए। त्यतिबेला प्रमुख रहेका नेपाल नजरबन्दमा पर्दा झलनाथले जिम्मेवारी पाएका थिए। सायद त्यही नजिर देखाएर अहिलेपनि खनाल जिम्मेवारी लिन चाहिरहेका छन् । यद्यपि पार्टीको आगामी साता बस्ने बैठकबाट यसको छिनोफानो हुने स्रोतको भनाइ छ।
एकीकृत समाजवादीका कतिपय नेताले कार्यबाहक राजेन्द्र पाण्डे नै हुने कुरामा कुनै मतभेद र द्विविधा नरहेको बताउँछन् ।’मुख्यकुरा वरिष्ठ उपाध्यक्ष र अर्काेतिर यतिन्जेलसम्म अध्यक्ष नेपाल विदेश जाँदा कार्यवाहक अध्यक्ष भएर चलाइसक्नु भएकोले उहाँको विकल्प अरु होइन’ समाजवादीका एक नेता भन्छन्,-‘अध्यक्षपछि कार्यबाहक पाउने नै बरिस्ठ उपाध्यक्षले हो, त्यसमा पनि अध्यक्षले अझै बढी विश्वास पनि पाण्डे कमरेडलाई नै गर्नुहुन्छ।’
सम्मानित नेता झलनाथ खनालले चाहिँ आफू सांसद पनि नभएकोले पार्टी हाँक्न प्रयाप्त समय दिन सकिने तर्क पनि गरेका छन् । ‘पार्टी र संसद दुबैतिर बरिस्ठ उपाध्यक्षलाई कार्यबाहक दिनु भन्दा म पार्टी हेर्छु,पाण्डे कमरेड सांसद पनि हुनुहुन्छ त्यसैले संसदीय दलको नेता बन्नु स्वभाविक हुनेछ’ झलनाथको भनाई उधृत गर्दै स्रोतले भन्यो। तर,कुनै अस्वाभाविक परिस्थितिमा जोसुकैले पार्टी हाँक्ने जिम्मेवारी पाउन सक्ने तर्क गर्दै केही नेताले झलनाथलाई अगाडि बढ्न भनिरहेको समेत बुझिन्छ। अर्कोतिर वरिष्ठ उपाध्यक्ष हुँदाहुँदै कार्यबाहकको जिम्मा अन्यत्र नजाने तर्क पनि पार्टी भित्र बलियो छ।
अब केहि दिनमा बस्ने पार्टीको सचिवालय बैठकमा अध्यक्ष माधव नेपालले जे भन्छन् त्यै लागू हुने पनि केही नेताको भनाइ छ। नेपाल विरुद्धको मुद्दामा के-के मागदाबी छ ? अदालतको कागज हेरेर त्यसको आधारमा निर्णय लिनुपर्ने भन्दै केही नेताहरू अध्यक्ष नेपालको अनुपस्थितमा पाण्डेले पार्टी हाँक्ने जिम्मेवारी पाउनेमा ढुक्क छन् ।

