माधवलाई भ्रष्टाचार मुद्दा : किन चुपचाप छन् शिर्ष नेता?’

काठमाडौं । पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ।
यो प्रकरणले ठुला साना सबै राजनीतिक दलभित्र हलचल त ल्याएको छ तर,यसबारे धेरैले कुनै प्रतिक्रिया र टिप्पणी गर्न चाहेका छैनन् । जसको अर्थ हुन्छ आज बोलेको कुरा भोलि आफैंलाई भारी पर्न सक्नेमा नेताहरू सचेत देखिन्छन् । भ्रष्टाचार जस्तो जघन्य अपराधमा पनि खुलेर आफ्नो मत जाहेर गर्न नसक्नु शिर्ष नेताहरूको डर वा बाध्यता के हुन सक्छ ? मदन भण्डारीको दासढुङ्गा हत्याकाण्ड पछि तत्कालीन नेकपा एमालेको १५ बर्ष लगातार नेतृत्व गरेका नेपाल पछिल्लो समय एमालेमै अटाएनन् र छुट्टै पार्टी बनाए। त्यसपछि नै बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको टक्कर परिरह्यो। अहिलेको मुद्दामा उनी स्वयं र उनको पार्टीले ओलीलाई लान्छना लगाइरहेको छ। यद्यपि ओलीले यसबारे मुख खोलेका छैनन् ।
भारतिय योग गुरु रामदेव जोडिएको काभ्रेको पतञ्जली जग्गा प्रकरणमा पुर्व प्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाइएको छ। अरु ९२ प्रतिवादी बारे खासै चर्चा छैन। तर,गणतन्त्र आएकोपछीका प्रधानमन्त्री मध्य पहिलोपटक माधवकुमार नेपाल माथी मुद्दा दायर भएपछि र उनको सांसद पद समेत निलम्बन भएपछि यसलाई राजनीतिक प्रतिशोधको रुपमा ब्याख्या गर्न खोजिएको छ। तर, यसलाई नितिगत भ्रष्टाचार वा सुशासनको रुपमा कसैले पनि हेरेको देखिन्न। माधव नेपालको दल नेकपा एसले राजनीतिक प्रतिशोध नै हो भनेर प्रधानमन्त्री ओलीमाथी आरोप लगाइरहँदा केही ब्यक्ति र समूहले भने अख्तियारले गरेको भ्रष्टाचारविरुद्धको साहसिक कदम भनेर प्रतिक्रिया दिएका छन् ।
अनौठो कुरा चाहिँ के छ भने माधवकुमार नेपालविरुद्धको मुद्दामा शिर्ष नेताले कुनै प्रतिक्रिया दिएका छैनन् । खासगरी प्रधानमन्त्री ओली,पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा,पुष्पकमल दाहाल प्रचण्ड,डा.बाबुराम भट्टराई लगायत रास्वपा,नागरिक उन्मुक्ति र जनमत पार्टीका नेता समेत बोलेका छैनन् । ओली र देउवा बाहेक अरुलाई बर्तमान सरकारसँग डर भएर हो वा भोलि कतै आफ्ना पनि कमिकमजोरी छन् र फसिएला भन्ने त्रासले हो प्रतिक्रिया दिन आनाकानी भैरहेको छ।
बर्तमान सत्ता गठबन्धनले माधवकुमार नेपाललाई तर्साएर अन्य बिपक्षीलाई पनि साइजमा ल्याउन खोजेको भन्नेहरु पनि छन् । तर, अख्तियारको काममा सरकारलाई मुछिएको भन्दै एमालेको कार्यकर्ता पङ्तीले प्रतिवाद गरिरहेको छ। तर,रास्वपा सभापति रवि लामिछाने जेलमा, माओवादी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दामा सर्बोच्चको नयाँ आदेश,रेशम चौधरी पक्राउसँगै एकता भाडिएको जनमत र नागरिक उन्मुक्तिको भविस्य,धवल शमशेर राणा र रविन्द्र मिश्र सहित राप्रपा नेताहरू माथिको मुद्दालाई हेर्दा सत्तापक्ष माथी प्रश्न उठाउन बिपक्षी कमजोर देखिन्छन् ।

