जेठ १९ : दरबार हत्या काण्डको २४ बर्ष


काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहलगायत उनको परिवारका सम्पूर्ण सदस्यको नारायणहिटी राजदरबारमा हत्या भएको २४ वर्ष पूरा भएको छ।

विसं २०५८ जेठ १९ गते शुक्रबार राती नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो। त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्या भएको थियो।

अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो। दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो।

पछि दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरियो।

तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई दरबार हत्याकाण्डको छानबिन गरी प्रतिवेदन पेश गर्न सरकारले निर्देशन दियो।

छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिएपनि आम नेपालीले अहिलेसम्म पनि यसलाई स्वीकार गरेका छैनन्।

पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी यो दिवस मनाइँदैछ। यस अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गर्दैछ।  त्यसैगरी हिमानी शाह ट्रस्टले आज साँझ ६ बजे कमलादीस्थित गणेश मन्दीरमा दीपप्रज्वलन गर्ने कार्यक्रम रहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय