ब्रेकिङ : भारतमा कोरोनाबाट २ दिनमा २१ संक्रमितको मृत्यु

काठमाडौं । २०१९ मा विश्वभर तहल्का मच्चाएको कोरोना छिमेकी मुलुक भारतमा पुनः तिव्र गतिमा फैलिएको छ। कोरोना संक्रमणबाट २ दिनमा कम्तीमा २१ संक्रमितको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणकै कारण भारतमा धेरै प्रदेशमा मानिसहरु त्रसित छन् । कोरोनाका कारण पछिल्लोपटक शनिबार बेंगलुरुमा ६३ वर्षीय पुरुष र दिल्लीमा एक ६० वर्षीय पुरुषकै मृत्यु भएको थियो। अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३ हजार ७८३ पुगेको छ।

समाचारमा जनाइए अनुसार सबैभन्दा बढी केरलामा १ हजार ४ सय जना संक्रमित छन्। अनि महाराष्ट्रमा ४८५ र दिल्लीमा ४३६ कोरोनाका बिरामी छन्। पछिल्लो ४८ घण्टामा मात्र हजारभन्दा बढी नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

भारतको स्वास्थ्य विभागका अनुसार जनवरीदेखि अहिलेसम्म कोरोनाका कारण २८ जनाको मृत्यु भइसकेको छ।

यसैबीच कर्नाटक सरकारले सूचना जारी गरी भीडभाड भएका ठाउँमा मास्क लगाउन, शारीरिक दूरी कायम राख्न र सरसफाइमा विशेष ध्यान दिन मानिसहरूलाई आग्रह गरेको छ। ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै परीक्षण गर्न भनिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय