मिसन-०८४ एमालेको एकल बहुमत : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मिसन-०८४ अरु कसैका लागि नभएर एमालेले एकल बहुमत ल्याउनलाई भएको बताएका छन् ।
उनले आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउनेमा अब कुनै शंका नगर्न नेताकार्यकर्तालाई आग्रह पनि गरे। व्यक्तिगत महत्वाकांक्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा ०८४ को निर्वाचनमा एमालेको एकल बहुमतलाई कसैले रोक्न नसक्ने दोहोर्याए ।
नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेकथरी स्वार्थको टक्कर गर्नेहरुले मोर्चाबन्दी गरेर एमालेका विरुद्धमा लागेर झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई विभाजन गराइए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको बताए।‘भविष्यमा पनि अयोग्य हुने गरी प्रतिक्रियावादीहरुले मलाई साधारण सदस्यबाट पनि हटाएको घोषणा गरे। विचार र विकासको नायक पार्टीलाई सिध्याउँछु, धुलो चटाउँछु भने। यी सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बन्यो,’ ओलीले भने, ‘व्यक्तिगत महत्वाकांक्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेको एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन। विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सकेका छौँ। आज एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन। त्यसकारण हामी मिसन २०८४ मा अघि बढेका छौँ। यसमा जो जहाँ छौँ, त्यहाँबाट योगदान गरौँ।’

