क्रोनी क्यापिटालिज्मको अन्त्य कसरी ? (छैटौं संस्करण)

डा. शेखर अर्याल

आजको लेख प्रविधिको प्रभुत्वमा केन्द्रीत रहनेछ । अर्थ राजनीतिलाई गहिरो ढङ्गबाट अनुसन्धान गर्नुपछ, त्यसपछि मात्र त्यसको प्रयोगको विधि निर्धारण गर्न सकिन्छ ।

प्रविधि विकास त्यसको गहिरो अनुसन्धान र प्रविधिको उच्चकोटीको प्रयोगविधि निर्धारण गर्नका लागि पनि अर्थ राजनीतिको गहिरो प्रभाव हुन्छ । प्रविधिको प्रभुत्व मानव मस्तिष्कको विकाससँगै प्रविधि विकास पनि सुरु भएको हो । यो प्राकृतिक नियम नै हो । मानव जीवनलाई सरल, सुखमयी, आरामदायी बनाउनको लागि प्रविधि विकास भएका हुन् । मानव मात्र नभई प्राणी जगतको कल्याण हेतु प्रविधि विकास गर्नुपर्ने प्राकृतिक नियम विपरित भएको प्रविधि विकासले सम्पूर्ण विश्व जगत्‌लाई लज्जाबोध गराएको पनि छ । आजसम्म विश्व उतारचढावको प्रमुख भूमिकामा प्रविधि विकास महत्वपूर्ण रहेको छ ।

“भूइँको टीप्न खोज्दा पोल्टाको पोखिने डर” हुन्छ प्राणी जगत्‌मा कुन जलचर, कुन थलचर, कुन उभयचर, कुन वायुचर समस्त प्राणीहरूमा बुद्धिवान विवेकवान मानिसहरूको बुद्धि विवेकको प्रयोगद्वारा गरिएका अनुसन्धानद्वारा आविष्कार भएको वस्तुहरूको प्रयोगसँग प्रकृतिले पनि डराउनुपर्ने अवस्था सृजना भएको छ । यसरी कृषिक्षेत्र, स्वास्थ्यक्षेत्र, शिक्षाक्षेत्र, भौतिक निर्माणमा भएका प्रविधिहरूको आविष्कारले सम्पूर्ण प्राणी जगत्‌लाई ठूलो राहत दिएको छ, व्यवस्थित बनाएको छ, शिक्षित तुल्याउन मद्दत गरेको छ, दीर्घजीवि बनाएको छ, संसारलाई साह्रैनै सानो र नजिक तुल्याएको छ । त्यसैगरी सुरक्षाक्षेत्रमा भएका प्रविधिहरूको आविष्कारले मानवजीवनलाई धेरै सुरक्षित बनाएको छ ।

अर्को पाटोमा त्यही प्रविधि आविष्कारको गलत प्रयोगहरूले सम्पूर्ण मानवजीवन र प्राणी जगत्‌लाई नै ठूलो दुःख, अन्धकार र ठूलो जोखिममा पारेको यथार्थ पनि कसैसामु लुकेको छैन । त्यसैले प्राणी जगत्‌को रक्षा हेतु, प्रकृतिको पूर्ण सन्तुलन हेतु प्रकृतिमैत्री एवम् प्राणी जगत्‌को सुरक्षामैत्री सन्तुलित प्रविधि विकासको नयाँ खाका कोर्नुपर्ने र सम्पूर्ण संसारले मान्यता गर्नुपर्ने आजको टड्कारो आवश्यकता भइसकेको छ ।

क्रोनी क्यापिटालिज्मको जालोले अहिले भर्खरै नेपाल सरकारका सह-सचिव तीर्थराज भट्टराई र स्वयम् नेपाल सरकारका गृहमन्त्री रमेश लेखकलाई समेत डामेको छ । यद्यपि यो पुष्टि हुन बाँकी छ। मानव तस्करीमा भिजिट भिजा प्रकरणमा नेपाली जनता र सम्भवतः विदेशीहरूसित पनि ठगेर लिने रकम दैनिक रु.५०,००,०००।– अनुमानमा देखिएको छ, यत्रो ठूलो र योभन्दा धेरै धनराशी दैनिक रूपमा उठाउने र नियन्त्रण गर्ने जिम्मा अध्यागमनका प्रमुख अधिकारी अर्थात् सहसचिव तीर्थराज भट्टराई त्यसलाई विभिन्न पदाधिकारीहरू हुँदै गृहमन्त्री र सम्भवतः त्यो भन्दा माथि पनि रकमहरूको दामासाही प्रवाह भएको आशंका कायमै छ ।

यसरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ठूलो सफलता हात लगाउने कोसिस गरेको छ र यो सबै आज उपलब्ध भएको अत्याधुनिक उपकरणहरूको मद्दतले सम्भव भएको हो । प्रविधिको प्रभुत्वको यो एउटा विशेष उदाहरण हो । प्रत्येक दिन करिब  ४ सय नेपाली भ्रमण भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेशको आफ्‌नो गन्तव्यतर्फ लाग्दछन् । यसरी यात्रा गर्दा यूरोप भ्रमण भए ३,००,०००।– (तीन लाख) र खाडी मुलुकहरू भए ५०,०००।– (पचास हजार) बुझाउने गरेको तथ्य सार्वजनिक भएको छ । यसरी रगतको पसिनाले नेपाली जनताले आर्जन गरेको रकम कुनै सरकारी निकाय कतै दाखिला गर्नुनपर्ने बेहिसाब बेरोकटोक आफ्‌नो मोजमस्तीको लागि प्रयोग गर्न सांगठानिक रूपमा नै उठाई आफ्‌ना आसेपासे कर्मचारीहरूदेखि मन्त्री तथा त्योभन्दा माथिसम्म हुने यस प्रकारको छद्म लेनदेन नै क्रोनी क्यापिटालिज्म वा अर्थतन्त्रको एक बलियो उदारहण हो ।

केही महत्वपूर्ण उदाहरणहरूलाई याद गर्ने हो भने पनि प्रविधिको प्रभुत्व देखिन्छ । एक वर्ष अघि सम्पन्न नेपाली काँग्रेसको लाइभ गरिएको केन्द्रीय सदस्यहरूको बैठकमा गरिएको लाइभ प्रसारणमा महामन्त्री थापा र सभापति देउवा बीच रहेको गणपुरकको ठूलो खाडललाई छर्लङ्ग पारेको थियो । अपितु महामन्त्री थापा महामन्त्री पदमा भने ठूलो मतले विजयी भएका थिए ।

प्रविधिको प्रभुत्वले गर्दा सभामुखजस्तो गरिमामय पदमा आसिन शक्तिशाली माओवादी पार्टीका नेता कृष्णबहादुर महरालाई स्व. रोसनी शाहीले जेल यात्रा गराउन सफल भएकी थिईन् । सिसिटिभी फुटेज नभएको भए महरालाई पक्रने आधार साह्रै कमजोर हुन्थ्यो ।

यस्तै प्रविधिको प्रभुत्वले गर्दा नेपाली जनताले काठमाडौं महानगरको लाईभ टेलिकाष्ट हेर्दै कुन वडाका कुन वडाअध्यक्ष कुन स्तरका थिए र कुन लवजमा कुरा गर्थे भन्ने कुराको साक्षी हुन पाएका थिए ।

हृदयविदारक तिनकुने घटनाका बारेमा पनि नेपाली जनताले प्रत्यक्ष हेर्न पाएका थिए । जसले गर्दा कतिपय ठाउँमा देखिएका दृश्यबाट नै उनीहरू स्वयम्‌ले नै को दोषी र को निर्दोष प्रत्यक्ष देख्न पाएका थिए, त्यो सबै प्रविधिको प्रभुत्वको कारण नै सम्भव भएको थियो ।

प्रविधिको जन्म हुनको लागि प्राचीनकालमा ऋषिमुनिहरू र आधुनिककालमा वैज्ञानिकहरूले यस पृथ्वी तथा ब्रह्माण्डमा रहेका बस्तुहरू, स्रोत, साधनहरूको सदुपयोगको लागि शिक्षा तथा प्राकृतिक तथा भौतिक शिक्षा तथा विद्याद्वारा अध्ययनकै सिलसिलामा आत्मसात तथा ब्रह्मज्ञानबाट प्राप्त लिखित सिद्धान्त प्रतिपादन गरिसकेपछि त्यसलाई पुनः वैज्ञािनकहरूद्वारा विभिन्न प्रयोगशालाहरूमा ठूलो मिहेनतका साथ अनुसन्धान, अन्वेषण, सुपरीवेक्षण गरी प्रयोगमा ल्याउने काम गर्दछन् ।

त्यसले सिद्धान्तमा लेखिएका आत्मगत वस्तुलाई, वस्तुगत वस्तुहरूमा परिणत गर्दछ र संसारमा प्राणी जगत्‌को कल्याणको निमित्त सदुपयोग हुने वातावरण प्राप्त गर्दछ । यसरी नै प्रकृतिबाट भाषा तथा लिपिको रूपमा प्रविधिको जन्म हुन्छ र प्रयोगशालामा अनुसन्धान पश्चात् प्रयोगमा ल्याउने वातावरण तयार गरिन्छ अनि यसको प्रभुत्वको नयाँ अध्याय शुरु हुन्छ ।

यसरी ठूलो त्याग, तपस्या, मेहनत र अनुसन्धानबाट प्राप्त हुने प्रविधिको प्रभुत्वलाई पनि क्रोनी क्यापिटालिज्मको प्रयोगद्वारा गर्न सकिने दुरूपयोगलाई पूर्ण प्रतिबन्द लगाउनका लागि सम्पूर्ण न्यायप्रेमी जनताले बेलैमा सचेत भएर संगठनात्मक रूपमै कामहरू गर्नुपर्दछ ।

(लेखक डा. अर्याल नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) काठमाडौं क्षेत्र नम्बर-३ का संयोजक हुन् )

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय