एमाले रहेसम्म प्रतिगमनकाे कुचेष्टा कसैले नगरे हुन्छ : प्रधानमन्त्री

पोखरा । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले रहेसम्म प्रतिगमनको खतरा नहुने बताएका छन् । उनले प्रतिगमन हुने अवस्था आए त्यसलाई रोक्ने अभियानको अग्रभागमा एमाले रहने समेत बताए।
राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको हक, अधिकार र मुलुकको स्वाधिनताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्र भागमा एमाले पार्टी रहेको बताएका हुन् । उनले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न पनि राजावादीलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङको भनाइलाई लक्षित गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर चाँडै राजतन्त्र फर्कने जस्ता हल्ला फिँजाएको बारेपनी टिप्पणी गरे। ‘पूर्व राजाको कुण्डली मात्रै हेरेर हुँदैन । जनताको कुण्डली हेर्नुपर्छ । ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ । राजसिंहासनको कल्पना अब हुन्न । नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न । राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु’-उनले भने।
उनले केही ब्यक्तिले प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा गरेको भन्दै त्यसको पनि खण्डन गरे।’ भन्न चाहन्छु, कुनै पनि प्रतिगमनको कुचेष्टालाई धुलो पिठो बनाइन्छ । त्यस्ता प्रयास रोक्ने अग्र भागमा युवा सङ्घ आउनुपर्छ’ उनले भने,-‘कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ । तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु।’
अध्यक्ष ओलीले एमालेका योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै एमालेको नेतृत्वमाथि केन्द्रीकृत गरेर अनुचित झुटा लाञ्छना र आरोप लगाउने काम भइरहेको समेत बताए।कहिल्यै राजनीति नगरेको र राजनीति थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आएको भन्दै ओलीले रास्वपा र राप्रपाको खुलेर बिरोध गरे।

