माओवादीले नेतृत्व गरेको पालिका बेरुजु शून्य

काठमाडौं । देशभरका ७५३ वटै स्थानीय तहमध्ये दुई आर्थिक वर्ष लगातार बेरुजु शून्य बनाउने एकमात्र पालिका काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका देखिएको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा केवल महाभारत गाउँपालिकाले मात्र बेरुजु शून्य बनाएको हो। अघिल्लो वर्ष पनि उक्त पालिका बेरुजु शून्य बनाउने पाँच स्थानीय तहमध्ये एक थियो, तर यसपटक त्यो संख्या घटेर एकमात्र महाभारतमै सीमित भएको हो।

देशभरका ७५३ स्थानीय तह र संघ तथा प्रदेश सरकार गरी जम्मा सात सय एकसठ्ठी सरकारमध्ये लगातार दुई वर्ष बेरुजु शून्य बनाउने महाभारत गाउँपालिका एक्लो उदाहरण बनेको छ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार यो सफलता जनप्रतिनिधि र कर्मचारीको साझा प्रतिबद्धता र निरन्तर प्रयासको परिणाम हो। ‘सार्वजनिक खरिद ऐन, नियमावली र स्थानीय सार्वजनिक ऐनको पालना गर्दै कर्मचारीलाई तालिम दिइएको हो,’ अध्यक्ष जिम्बाले भने, ‘सङ्गठनमा कानुनी दायरा भित्रै रही काम गर्ने संस्कार विकास गरिएको छ।’

उनको नेतृत्वमा योजनाबद्ध ढंगले काम गरिँदा समयमै लेखापरिक्षण सम्पन्न गरिएको, आवश्यक कागजात संकलन गरी खर्च विवरण पारदर्शी बनाइएको, र लेखा प्रणाली व्यवस्थित गरिएको देखिन्छ।

अध्यक्ष जिम्बा पहिलो स्थानीय तहको निर्वाचनमा देशभरबाट सबैभन्दा कान्छा अध्यक्षका रूपमा विजयी भएका थिए। अहिले दोस्रो कार्यकालमा माओवादी केन्द्रको उम्मेदवारका रूपमा पुनः निर्वाचित भएका उनी नेतृत्वमा अनुभव र नवीन सोचको समायोजन गर्न सफल देखिन्छन्।

बेरुजु न्यूनीकरण सधैं सरकारी खर्चको पारदर्शिता, जवाफदेहिता र कार्यान्वयन क्षमताको मापदण्ड मानिन्छ। यस्तो अवस्थामा महाभारत गाउँपालिकाको उपलब्धि उदाहरणीय छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...