नेपालमा मतदाता १ करोड ८१ लाख ४८ हजार

काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले ०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई अद्यावधिक गर्दै अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो ।
आयोगले सार्बजनिक गरेको मतदाता मध्य १ करोड ८१ लाख ४८ हजार ६५४ छन् । यसमा महिला पुरुष बाहेक अन्य लिङ्ग भएका १८६ जना पनि छन् । जसअनुसार पुरुष मतदाताको संख्या ९२ लाख ३७ हजार ५७२ रहेको छ।
यसैगरी महिला मतदाताको संख्या ८९ लाख १० हजार ८९६ रहेको आयोगले सार्बजनिक गरेको तथ्यांकमा उल्लेख छ। विगतमा प्रकाशित मतदाता नामावलीभन्दा हाल प्रकाशित मतदाता नामावलीमा अन्य मतदाता एक जना घटी १८६ कायम भएको छ । महिला मतदाता सात हजार ६९९ र पुरुष मतदाता १२ हजार १२४ थप भई जम्मा १९ हजार ८२२ जना मतदाता थप भएका छन् ।
यसअघि आयोगले मतदाता नामावलीमा त्रुटि भएको भए अनलाइन तथा निर्वाचन कार्यालयमार्फत सच्याउन सकिने जनाएको थियो । कुनै व्यक्तिको विरोधमा उजुरी दिनुपर्ने भए उजुरी दिन कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राखा तथा मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने गरी सूचना प्रकाशित गरिएको थियो ।
मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम सो बमोजिमको सम्पूर्ण प्रक्रिया पूरा भएको आयोगले जनाएको छ । आज बुधबारको निर्णयअनुसार आयोगबाट अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो ।
सम्बन्धित व्यक्तिले आफ्नो मतदाता नामावली हेर्न सकिने गरी मतदाता नामावली आयोगको वेवसाइटमा प्रकाशन गरिएको छ ।
साथै मतदाता नामावलीमा नाम नभएका र नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने तथा मतदाता नामावलीमा नाम भएका मतदाताले आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने भएमा अनलाइन तथा सम्बन्धित निर्वाचन कार्यालय मार्फत निरन्तर रूपमा गर्न सकिने व्यहोरा आयोगले सरोकारवाला सबैलाई जानकारी गराएको छ ।

