पत्रकारले ‘तिमी’ भनेकोमा प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले मिडियाले प्रयोग गर्ने भाषाप्रति असन्तुष्टि जनाएका छन्।
गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिले पत्रकारले तपाईं भन्न छाडेर ‘तिमि’ भनेकोमा असन्तुष्टि ब्यक्त गरे। उनले राजतन्त्र फालेपछि जनताको छोराछोरी किन मान्ने भन्ने मिडियाले भाषाको कद घटाएको समेत बताए।
उनले गोरखापत्रले चाहिँ तपाईं भनेकोमा खुशी ब्यक्त गरे । प्रधानमन्त्रीले १०४ वर्षको उथलपुथल, राजा र राणाको पारिवारिक द्वन्द्व स्वार्थलाई देखेको गोरखापत्रले आजको परिवर्तनलाई अंगिकार गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीले भने-,’अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ। मैले राम्रोसँग याद गरेको छैन, राष्ट्रपतिले ‘भन्नुभयो’ भन्छ कि ‘भने’ भन्छ।’ उनले राष्ट्रपतिले उद्घाटन गरे भन्ने खालको पत्रकारिता नेपाली भाषा नै नभएको समेत बताए।
उनले भने-,’राजा हुँदा हेर्दैनथे राजा नजर गर्थे, हाम्रै पत्रपत्रिकामा हेर्नुपर्छ, राजा हुँदा हिँड्दैनथे, सवारी हुन्थ्यो। खाँदैनथे ज्यूनार हुन्थ्यो। बस्दैथे, आराम गर्थे। सुन्दैनथे श्रमण हुन्थ्यो। राजतन्त्र फाल्यौँ भनेपछि जनताको छोराछोरी किन मान्ने ? यिनलाई सम्मान किन गर्ने ? यु, यु भनेपछि हजुरबुबा पनि भयो नाति पनि भयो।’

