कांग्रेसबारे ओली : ‘कांग्रेस नै देउवा र देउवा नै कांग्रेस हो,८० प्रतिशत उनैसँग छन्’

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढल्ने कुरामा कुनै शंका नलिई अघि बढ्न पार्टी नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला सहित महामन्त्री गगन थापा र केही अन्य नेताले समेत सरकारको आलोचना गरेको भन्दै पार्टी सचिवालय बैठकमा एमाले नेताहरुले सरकारको आयु के हुन्छ ? भन्ने प्रश्न तेर्साएका थिए। सोही प्रश्नमा प्रधानमन्त्री ओलीले भने-‘कांग्रेस नै देउवा, देउवा नै कांग्रेस हो। सरकार ढाल्ने कुनै कांग्रेस त्यो पार्टीमा छैनन् । कांग्रेस भित्र एउटा समूह छ जो सधैं आलोचना मात्र गरिरहन्छ।’
एमाले सचिवालय बैठकमा सत्ता साझेदार कांग्रेसकै कतिपय नेताले सरकारको कार्यशैलीलाई लिएर आलोचना गरेको प्रसङ्ग निकैबेर उठेको थियो । त्यो सँगै शिक्षामन्त्रीबाट विद्या भट्टराईको राजिनामा,बिन्दा पाण्डे र उषाकीरण तिम्सिनाको कारबाही फुकुवा जस्ता बिषय पनि बैठकमा उठेको थियो। तर, ओलीले सरकार बारे चाहिँ राम्रै ‘डिफेन्स’ गरेका थिए। स्रोतका अनुसार अध्यक्ष ओलीले त्यस्ता चर्चाको अर्थ नहुने भन्दै कांग्रेस–एमाले सहमति अनुसार सरकार पूरै समय जानेमा विश्वस्त हुन आग्रह गरेका थिए ।

‘कांग्रेसका केही नेताहरूबाट आलोचना भएको सुनिन्छ तर त्यस्तो होइन’, ओलीले भने, ‘कांग्रेस भनेको देउवा र देउवा भनेको कांग्रेस हो अहिलेसम्म । त्यसैले गठबन्धन यताउता वा सरकार यताउता केही हुँदैन ।’

त्यस प्रसङ्गमा ओलीले कांग्रेसमा देउवाकै निर्णय लागु हुने र उनी ढलपल नभएसम्म चिन्ता नलिन आग्रह गरेका थिए । ‘देउवाजीसँग ८० प्रतिशत केन्द्रीय सदस्य र सांसद छन् । उहाँले जे भन्यो त्यही हुन्छ’, ओलीले बैठकमा भने, ‘देउवाजीलाई सभापति र दलको नेताबाट हटाउनसक्ने तागत कसैको छैन । यदि त्यो अवस्था आयो भनेचाहिँ सोच्नुपर्ने हुन्छ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय