आँधीमुल मन्दिरमा मत्स्य दर्शन पुजा गरिने
तनहुँ । तनहुँकाे आँबु खैरेनी गाउँ पालिका वडा नं.१ स्थित आँधीमुल मन्दिरमा यही बैशाख २६ गते मत्स्य दर्शन द्वादशीको दिन मत्स्य दर्शन पुजाको आयोजना गरिने भएको छ ।
आँधीमुल क्षेत्र संरक्षण समिती र आँधीमुल क्षेत्र संरक्षण सल्लाहकार समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
गत वर्ष विभिन्न कारणवश आँधीमुलका माछाहरु मरेपछी मानवीय त्रुटीका कारणले पनि माछाहरु हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै जेठ ७ गते क्षमा पुजाको आयोजना गरिएको थियो । संयोगवश सो दिन पन्चाङ्ग अनुसार मत्स्य दर्शन द्वादशी परेको थियो ।
स्थानिय बुद्धिजीवी नानीराम अधिकारीले सो मत्स्य दर्शन द्वादशीको दिनलाई एउटा पर्वको रुपमा मनाउने प्रस्ताव गरेका थिए । उनको सो प्रस्तावलाई भेलाले सर्वसम्मत रुपमा सहमती जनाए अनुरुप यस वर्ष मत्स्य दर्शन पुजाको प्रस्ताव गरिएको आँधीमुल क्षेत्र संरक्षण सल्लाहकार समिति सदस्य रामचन्द्र पण्डितले जानकारी दिए।
उनका अनुसार सो दिन बिधिपुर्वक चण्डी पाठ गरि बोकाको बलि अर्पण गरेर पुजा गरिनेछ । अँधीमुल क्षेत्र संरक्षण समितिका अध्यक्ष हिमाल थापाले सो दिन यस क्षेत्रका सम्पुर्ण भक्तजनहरुलाई फूल अक्षता लिएर सहभागी हुन आह्वान पनि गरेका छन् । उनले माछालाई नै आँधीमुल मन्दिरको जिवित देवताको रुपमा पुजा गरिने भएकोले मत्स्य दर्शन द्वादशीलाई यहाँको एउटा प्रमुख पर्वकै रुपमा विकसित गरिने बताए।
सो संयुक्त बैठकले सत्रसय बाट आँधीमुल जाने चोकमा प्रवेश द्वारा बनाउने निर्णय पनि गरेको छ ।