चुडामणिको दु:खद अन्त्य- श्रीमती मार्न सुपारी दिए आफैं मारिए
धादिङ। धादिङ गजुरीका ६० वर्षीय एक व्यक्तिले श्रीमती मार्ने योजना बनाउँदा आफैं मारिएका छन् । उनले आफ्नी श्रीमतीको हत्या गर्न जसलाई ‘सुपारी’ दिएका थिए, उनै व्यक्तिबाट मृत्युवरण गर्न पुगेका हुन् ।
गजुरी गाउँपालिकावडा नम्बर-२ डुँडेठाँटी बस्ने ६० वर्षीय चुडामणि कँडेलको गत चैत २७ मा घरको भुइँतलामा शव भेटिएको थियो। घाटीमा डोरीले कसिएको अवस्थामा उनको शव भेटिएपछि उनको मृत्यु हत्या वा आत्महत्या भन्ने खुलेको थिएन। त्यस घटनाको डरलाग्दो बास्तविकता अहिले खुलेको छ।
दुई तले घरको भुईँतलाको कोठाभित्र रहेको अट्याच ट्वाइलेट बाथरुमभित्र भुइँमा घाटीमा डोरी कसिएको अवस्थामा कँडेलको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङले कँडेलको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेपछी अहिले घटनाको नयाँ रहस्य खुलेको हो। प्रहरीले सो प्रकरणमा मकवानपुरको राक्सिराङ गाउँपालिका-९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तानलाई नियन्त्रणमा लिएपछि थप बास्तविकता पत्ता लागेको छ। प्रजालाई प्रहरीले वैशाख ३ गते डुँडेठाँटीबाट पक्राउ गरेको थियो भने थिङ र मुक्तान वैशाख १६ गते मनहरी गाउँपालिका-७ बाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङले आइतबार पत्रकार सम्मेलन गर्दै मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलवालबिच सम्बन्ध राम्रो नभएको र घटना त्यसै वरिपरि घुमेको बताएको छ। कँडेलले २०८१ असाेज देखि १ लाख पन्ध्र हजार बार्षिक भाडामा अक्कल बहादुर प्रजालाई खेतबारी जिम्मा दिएका थिए। पछि उनै प्रजालाई आफ्नी श्रीमतीलाई मार्ने जिम्मा समेत दिएको खुलेको छ।
श्रीमती मार्ने योजना बनाएर उनले २०८१ पुस महिनामा नै अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ दिएको देखिन्छ। त्यसपछि प्रजाले नै पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई यो काममा सहभागी गराएको अनुसन्धानबाट खुलेको छ। उनीहरूले सुस्मितालाई मार्न ४ पटक सम्म प्रयास गरे पनि सफल नभएको र श्रीमान कडेलले भने दबाब दिइरहेको देखिन्छ।
जब सुस्मिताको हत्या गर्ने योजना सफल भएन अनि काम नभएपछि कँडेल थिङसँग रिसाएको र काम नभएपछि पैसा फिर्ता देउ भन्दै दबाब दिइरहेको देखिन्छ। मृतक कँडेलले धेरै नै दबाब दिएपछि रिसाएका उनीहरूले कँडेलकै हत्या गर्ने योजना बनाए । त्यसपछि उनको घरमा पुगेर हत्या गरेको तथ्य खुलेको छ।
प्रहरीले उनीहरूको साथबाट मृतकको घाँटीमा कसेको डोरी र घटनामा प्रयोग भएको कोदालो बरामद गरेको छ । त्यस्तै, प्रजाको कोठाबाट कँडेलले दिएको १ लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा र जुत्ता र कम्ब्याट हाफ पाइन्ट पनि प्रहरीले बरामद गरेको छ ।
अभियुक्तहरूले मृतक कँडेलको फोन पनि फुटाएर फालेका थिए।उनीहरूले भनेको स्थानबाट कँडेलले प्रयोग गर्ने रेडमी फोनको टुक्राहरू पनि फेला परेको छ । तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।