श्री ५ भन्नेहरू हटे अहिले श्री ३ हावी छन् -डा.भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेसपा(नयाँ शक्ति) अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा श्री ५ शासन हटेपछि पनि जनताको लागी श्री ३ को झन् खराब शासन कायम रहेको बताएका छन् ।

पार्टी निकट नेपाल समाजवादी ट्रेड युनियन महासङ्घ र नेपाल समाजवादी नेवा सङ्घले संयुक्त रूपमा आयोजना गरेको १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई सम्बोधन गर्दै डा.भट्टराईले यस्तो बताएका हुन् । उनको भनाइमा अहिलेका श्री ३ भनेका केपी शर्मा ओली,शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड हुन् । उनले नामै लिएर तीन नेताको आलोचना गरेका थिए ।

मजदुरहरू र आम नेपाली जनताको सङ्घर्षका कारण देशमा सङ्घीय लोकतान्त्रिक व्यवस्था,स्थापना भए पनि मजदुरहरूका समस्या समाधान हुन नसक्नु दुःखद पक्ष भएको उनको भनाइ थियो।’श्री ५ हटाए पनि अहिलेका सत्तारुढ दलका नेताहरूको कार्यशैली श्री ३ को जस्तो देखियो’ उनले भने,-‘तीन नेताकै कारण जनतामा असन्तुष्टि सृजना भएको छ,यसले सकारात्मक नतिजा दिदैन,बेलैमा चेत खुलोस् ।’

डा.भट्टराईले श्रमिकको हकहितको कुरा गर्ने कम्युनिष्ट पार्टीका नेताहरूले नै झन् सत्तामा पुगेपछि मजदुरका हकहितका विषयलाई बेवास्ता गर्ने गरेको आरोप पनि लगाए। उनले शारीरिक र बौद्धिक श्रम गर्ने सबै खाले श्रमिकहरूको श्रमलाई उच्च सम्मान गर्नु पर्ने भन्दै मजदुरहरूले लडेर ल्याएको ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको अधिकार व्यवहारमा अझै लागु हुनु नसकेको बताए ।

कार्यक्रममा डा. भट्टराईले आफूले केही दिन अघि भारत भ्रमणका क्रममा दुई देश बिचको सम्बन्ध सुमधुर बनाउने काम गरेको पनि बताए । नेपालमा राजावादी भन्नेहरूले फैलाएको भ्रमबाट भ्रमित नहुन भारतका विभिन्न पार्टीका नेताहरूलाई सुझाएको भन्दै उनले नेपाली जनताले वर्तमान राजनीतिक दलका नेताहरूसँग असन्तुष्ट भए पनि गणतन्त्र प्रति असन्तुष्ट नभएको दोहोर्‍याए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय