अझै ४ दिन नेपालमा वर्षा

फाइल फोटो

काठमाडौं । बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण नेपालमा अझै ४ दिन बर्षाको संभावना देखिएको छ।

आगामी शुक्रबारसम्म र केही ठाउँमा शनिबार सम्म वर्षा हुनेछ।आज बुधबार पनि देशभर विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्सहित वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

बिहान मौसम महाशाखाले जारी गरेको सूचनाअनुसार दिउँसो देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यसैगरी कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत आउने सम्भावना छ।

महाशाखाका अनुसार राति पनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै कोसी प्रदेश ,बागमती प्रदेश, र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायु साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ।

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय