भारत गणतन्त्रको विपक्षमा छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकारले पनि नेपालमा गणतन्त्र नै चाहेको बताएका छन् ।

राजावादी शक्तिले गणतन्त्रको विरुद्धमा गरेको चलखेल बारे भारतिय पक्ष जानकार रहेको तर, व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको उनको भनाइ थियो। तीन दिने भारत भ्रमण सकेर मंगलबार साँझ स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग भने-‘भारतमा नागरिकस्तरमै पनि नेपालमा व्यवस्था उल्टिनेबारेमा चासो रहेको पाइयो तर, भारत सरकार र त्यहाँका मुख्य शक्तिहरू त्यस पक्षमा नरहेको देखियो।’

डा.भट्टराईले अनावश्यक ढंगले भ्रम पैदा गरेर प्रतिगामी शक्तिहरूले विरोध गरिरहेको आरोप पनि लगाए । नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा भारत नरहेको पाउँदा सन्तुष्टि मिलेको उनको भनाइ थियो ।’भारतमै जनस्तरमै चासो भएको विषय के रहेछ भने जुन विभिन्न प्रकृतिका आन्दोलन भइरहेका छन् । त्यो कतै व्यवस्थाकै विरुद्धको हो की भन्ने रहेछ । केही व्यक्तिहरू त्यसमा लागेको हुनसक्छ । तर भारत सरकार आफैँ र त्यहाँको मुख्य शक्तिहरूको फेरि यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि त्यहाँबाट भएको छैन । हुन सक्दैन, त्यसले लाभ गर्दैन । भन्नेकुरा नै आयो,’ उनले भने, ‘हामीलाई अनावश्यक ढंगले भ्रम छरेर प्रतिगामी शक्तिहरू त आइहाल्ने हो की, भोलि नै आइहाल्ने हो की भन्नेकुरा सत्य होइन ।’

उनले भारत सरकार नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी)ले काम गर्न नसकेको निष्कर्षमा पुगेकाले नयाँ विधि अपनाउनुपर्ने देखिएको पनि सुनाए। नयाँ विधिबाट नेपाल र भारतबीचका समस्याहरू समाधान गर्न भारत पनि सकारात्मक रहेको नेताहरूसँगको भेटका क्रममा आफूले जानकारी पाएको उनको भनाइ थियो।

उनले नेपाल र भारतबीच बाँकी रहेका समस्यालाई संवादका माध्यमबाट नै समाधान गर्न उचित हुने बताए । ईपीजीको ठाउँमा नयाँ विधि अपनाएर दुई देशका समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीस्तरीय वार्ता हुनुपर्ने आवश्यकता महसुस गरेको उनको भनाइ छ ।’बाँकी रहेका समस्यालाई वार्ता, संवादबाटै हल गरेर जानुपर्छ । त्यसका निम्ति ईपीजी नै राम्रो उपाय थियो’-उनले भने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय