गभर्नरसँगै सत्ता पनि लिने दाउमा देउवा !

काठमाडौं । प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता गठबन्धन ठिकठक चलिरहेको छ भन्ने कसैलाई लागेको छ भने त्यसको रिजल्ट ठिक उल्टो हुनेवाला छ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले थाइल्यान्ड जानू अघि नै टुङ्याएर गएका राष्ट्र बैंकका गर्भनर नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओली खेल्न खोजेपछि देउवा रिसाएका छन् । सभापति देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीबीच गुणाकर भट्टलाई गभर्नर नियुक्ति गर्ने सहमति भएसँगै  थाइल्यान्ड गएका देउवा फर्किदा सम्म गभर्नर नियुक्ति हुन नसकेपछि फायर भएका थिए।

यद्यपि त्यसबेला प्रतिपक्षी दलबाट सत्ता परिवर्तनको कुरा अनावश्यक फैलिएको भन्दै देउवा चुप बसे। थाइल्यान्डबाट फर्के लगत्तै उनले सरकार परिवर्तन हुँदैन भनेर ओलीलाई ढाडस दिए। त्यसपछि बालुवाटारमा राती २ घन्टा बार्ता पनि भयो। तर,जब ओलीले राष्ट्रबैंकको गभर्नर नियुक्तिको कुरामा आलटाल गर्न थाले अनि देउवाले पनि नयाँ ढंगले सोच्न थालेको बुझिएको छ। अब राष्ट्र बैंकको गभर्नर मात्रै होइन त्रिभुवन विश्वविद्यालयको उपकुलपति पनि लिएर सत्तामा पनि उलटफेर गर्ने मनस्थितिमा देउवा पुगेका छन् ।

शान्त भएर बसेका देउवालाई ओलीले पेलेर जान खोजेको भन्दै कतिपय कांग्रेस नेताहरू नै अब सत्तामा ओलीलाई अगाडि नबढाउने मुडमा देखिन्छन् । नेता शेखर कोइराला र गगन थापा पक्षले त खुलेरै ओलीको आलोचना गरिरहेको छ। अब देउवा पक्षमा पनि त्यो हावा चलिसकेको देखिन्छ। उपसभापति पुर्णबहादुर खड्का र प्रबक्ता डा.प्रकाशशरण महत लगायत नेता पनि अब सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने भन्न थालेका छन् ।

राष्ट्र बैंकको गभर्नर आफूले भनेको मान्छे नियुक्त नभए सत्ता सहकार्य अघि बढ्न नसक्ने चेतावनी देउवाले दिइसकेको स्रोतको भनाइ छ। त्यसैले गभर्नर नियुक्ति प्रकृया छिटो सक्न प्रधानमन्त्री ओलीलाई देउवाले दबाब दिइरहेका छन् । थाइल्याण्ड भ्रमणबाट फर्किए लगत्तै बालुवाटार पुगेर देउवाले गभर्नर किन नटुङगिएको भन्दै ओलीमाथि दबाब बढाएका थिए ।

त्यसपछि केहि दिनमै गभर्नर टुङगोमा पुग्ने प्रधानमन्त्री ओलीले देउवालाई बताएका थिए। त्यो शनिबार रातिको कुरा थियो। तर,त्यसपछि पनि ओलीले खासै चासो दिएको देखिएन।हिजो सोमबार बसेको मन्त्रीपरिषद बैठकमा पनि गभर्नर नियुक्तिको कुरा उठेन। काँग्रेसको तर्फबाट राष्ट्र बैंकका निर्देशक डा.गुणाकर भट्टको नाम टुङगोमा पुगिसकेको छ । तर सिफारिस गर्न प्रकृयागत विषय नमिलेको भन्दै सर्वोच्च अदालतसम्म मुद्दा  समेत परेको छ।

गभर्नर सिफारिस हुन निर्देशक भट्टले राजिनामा समेत दिइसकेका छन् । तर अहिलेसम्म उनको राजिनामा स्वीकृत पनि गरिएको छैन। कायम मुकाय गर्भनर निलम ढुङगानालाई भट्टको राजीनामा स्वीकृत गर्न एमालेले दबाब दिएको भनिएपनी उनले राजिनामा स्वीकृत गर्न मिल्ने नमिल्ने पनि अन्यौल छ ।

राष्ट्र बैंक ऐनमै गभर्नरको पदावधि सकिनु एक महिना अगावै गभर्नर नियुक्त गरिसक्नु पर्ने स्पष्ट व्यवस्था छ । तर प्रधानमन्त्रीले त्यसलाई समेत वेवास्ता गरेको देखिन्छ। प्रधानमन्त्री ओली पनि गभर्नर एमालेले नछाड्ने मनस्थितिमा पुगेको स्रोतको दाबी छ। सत्ता के हो के हो गभर्नर किन छाड्ने ? भन्ने एमाले भित्र कुरा उठेको छ। त्यतिमात्र होइन सत्ता सहकार्यलाई लिएर दुई नेताबिच चर्को अविस्वास पैदा भएको समेत बुझिएको छ। गभर्नर नपाए सरकार जे पनि हुनसक्छ भन्ने चेतावनी कांग्रेसले दिइसकेको बुझिएको छ।यद्यपि ओली  र देउवा भने गठबन्धनमा समस्या नभएको बताइरहेका छन् ।

अर्कोतिर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रतिपक्षी दलहरूले उक्साइरहेका छन् । कांग्रेसका ८८ बाहेक पनि देउवालाई बिपक्षी दलका ६० भन्दा बढि सासंदहरुको समर्थन देखिन्छ। माओवादी ३२,एकीकृत समाजवादी १०,नाउपा र जनमतको १० र रास्वपाको २१ समेत देउवालाई समर्थन हुने पक्का छ। त्यससँगै लोसपा,जसपा,जसपा नेपाल र स्वतन्त्र प्रभु शाह समेत ओलीको विपक्षमा जाने देखिन्छ।

यी सबै परिस्थिति हेर्दा नेपाली कांग्रेसले सबै खाले नियुक्ति पनि नछाड्ने  र अन्तिममा सत्ताको नेतृत्व पनि लिने देखिन्छ। पार्टीका सबै तहका संघ संगठनहरुले सभापति देउवामाथि कुनैपनी नियुक्ति नछाड्न चर्को दबाब समेत दिइरहेका छन् । यसरी सबै नियुक्तिहरुमा काँग्रेसले अडान लिएपछी एमाले अध्यक्ष ओलीमाथी थप दबाब बढ्ने देखिन्छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय