बलात्कारको आरोप लगाएकी प्रेमिकासँग जेलमै विवाह

भारतको ओडिसास्थित गंजम जिल्लामा बलात्कारको मुद्दामा जेल परेका २६ वर्षीय एक पुरुषले जेल परिसरभित्रै पीडित भनिएकी युवतीसँग विवाह गरेका छन् ।

विवाहका क्रममा जेल परिसरमा दुलहा र दुलहीका परिवारका सदस्य, प्रतिष्ठित व्यक्ति र जेल अधिकारीहरूको उपस्थिति थियो । जिल्लाको पोलासरा प्रहरी चौकीको सीमाभित्र पर्ने गोछबारीमा विचाराधीन मुद्दाका ती कैदी सूर्यकान्त बेहेरा गत वर्ष नोभेम्बरमा जेल परेका थिए ।

प्रहरीले पक्राउ गर्नुअघि बेहरा गुजरातको सुरतमा काम गर्थे । उनकी आफ्नै प्रेमिकाले उनीविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी थिइन् । मुद्दा दर्तापछि उनलाई पक्राउ गरिएको थियो । तर उनले अब आपसी सहमति भएको र विवाहको वातावरण बनेको बताएका छन् ।

दुलहीका वकिल पीके मिश्राले दुई परिवारबिच केही असमझदारी बनेका कारण २२ वर्षीया युवतीले बेहेराविरुद्ध बलात्कारको उजुरी दर्ता गरेको बताएका छन् । त्यसपछि उनलाई हिरासतमा लिइएको थियो । वकिल मिश्राले आपसी सहमतिमा दुई जनाको विवाह गर्न सफल भएको बताएका छन् । तर दुलहा भने मुद्दा चलिसकेकाले कैदमै छन् । ‘हामीले कारागार अधिकारीहरूबाट अनुमति लिएर र सबै कानुनी पक्ष पालना गरेर उनीहरूको विवाह समारोह आयोजना गर्‍यौँ,’ कोडाला उप–कारागारका जेलर तारिणीसेन देहुरीले भने ।

हिन्दु परम्पराअनुसार भयो विवाह

वकिल मिश्राले उनीहरूको विवाह हिन्दु परम्पराअनुसार भएको बताए । यस क्रममा उनीहरू दुवै पक्षका आफन्तहरू समारोहमा उपस्थित थिए । विवाहमा दुलाहा सजिएर गाडी चढेर विवाह समारोहस्थलमा पुगेका थिए । यसको व्यवस्थापन पनि जेलका अधिकारीहरूले नै गरेका थिए ।

समारोह सकिएपछि दुलाहालाई जेल पठाइयो भने दुलही घर फर्किइन् । बेहुलाका बुबा भास्कर बेहेराले भने, ‘हामीलाई आशा छ कि उनी चाँडै जेलबाट रिहा हुनेछन् र उनीहरूले सुखी वैवाहिक जीवन बिताउनेछन् ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय