सरकार ढल्छ भन्नेहरू गलिसके : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जवाफ सुनेपछि प्रतिपक्षीको मुखै बन्द भएको प्रतिक्रिया दिएका छन् ।

उनले देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले फत्रक्क गलेको समेत बताए। एमाले अध्यक्ष समेत रहेका ओलीले शनिबार संसदीय दलको बैठकमा यस्तो बताएका हुन् । साथै उनले प्रतिपक्षीको त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र ‘मिसन-०८४’मा केन्द्रित हुन पार्टीका सांसदहरूलाई आग्रह गरे ।

उनले सरकार ढल्यो-ढल्यो भन्दै उफ्रिनेहरु अब चुप लाग्ने समेत बताए।“सरकार बांगिसक्यो, शेरबहादुरजी थाइल्यान्डबाट नेपाल आइपुग्नेबित्तिकै ढल्छ भनेर भनेका थिए,” सांसदहरुसँग उनले भने, “मैले त भ्रम फिँजाउनेहरूका पछाडि नलाग्नुस्, आफ्नो मिसन र काममा लाग्नुस्, चुनावमा लाग्नुस् भनेकै थिएँ ।”

उनले अगाडि भने, “शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरू फत्र्याक्क गलेका छन्, सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरैपटक खोज्नतिर हामी लाग्नु हुँदैन ।”

उनले आउँदो आर्थिक वर्षका निम्ति सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको बताए । “हामी सबैको ध्यान त्यसमा केन्द्रित भएको छ,” उनले भने, “हल्लाको पछाडि कोही पनि लाग्नु पर्दैन ।”

संसद्को चालु अधिवेशन, विद्यमान परिस्थितिलाई बुझेर जनताका समस्याको उठान र समाधानको उपायका निम्ति भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

प्रतिगमनकारीले आन्दोलनका नाममा हिंसात्मक तथा संविधानविरोधी गतिविधि गरेको उनले उल्लेख गरे । आवश्यक पर्दा त्यस्ता गतिविधिमाथि सरकारले कानुनबमोजिम कडा कदम पनि चाल्न सक्ने उनले संकेत गरे ।

मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरूको आसमा नभई आफैँले गर्नतिर लाग्नुपर्ने बताए ।पार्टीमा आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा उनले जोड दिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय