विष सेवन घटना : ३ सन्तानसहित आमाको मृत्यु
काठमाडौं । धनुषामा विष सेवनबाट सिकिस्त महिलाको मृत्यु भएको छ। घटनामा तीन सन्तानको पनि मृत्यु भैसकेको छ।
गत सोमबार ३ सन्तान सहित विषसेवन गरेकी धनुषा शहीदनगर नगरपालिका-५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा शुक्रबार बिहान पौने १० बजे मृत्यु भएको हो ।
जनकपुरको रामजानकी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। बैशाख ८ गते साँझ घरमा तीन छोराछोरी सहित पविता कुमारीले विष सेवन गरेका थिए । सोही दिन ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी मृत्यु भएको थियो ।
घरयासी विवादका कारण पविताले ३ सन्तानलाई पहिले विष सेवन गराई आफुले पनि सेवन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। उनी ९ महिनाकी गर्भवती समेत रहेको र उनको पेटको बच्चालाई निकालिएको जनाइएको छ। शिशुको अवस्था सुधारोन्मुख रहेको बुझिएको छ।