कागेश्वरी मनोहरामा एकीकृत सेवा सुरु हुँदा नगरवासी खुसी

काठमाण्डौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले नगरवासीको सुबिधालाई ध्यानमा राखेर सबै सेवा एकै ठाउँबाट दिन सुरु गरेको छ। यो सेवाले नगरवासी लाभान्वित हुनुको साथै झन्झटमुक्त हुनेमा आशावादी छन् ।

नगरपालिकाले दिने दैनिक सेवा प्रवाहलाई अझ प्रभावकारी तथा छिटो छरितो र नगरवासीको खुशीलाई ध्यानमा राखेर एकीकृत सेवा प्रणालीको शुरुवात गरिएको नगर प्रमुख उपेन्द्र कार्कीको भनाइ छ। उनले नगरवासीलाई के गर्दा सजिलो र छिटोछरितो हुन्छ भन्ने सोचेर नै यो सेवा सुरु गरिएको र नगरवासीबाट सकारात्मक प्रतिक्रिया पाएको बताए।

नगरपालिकाको नवनिर्मित भवनबाट गत बैशाख २ गतेदेखि लागू भएको यो सेवा प्रणाली अन्तर्गत अब नगरवासीहरूले जुनसुकै काम पनि एकैठाउबाट लिन सक्नेछन् । नगरपालिकामा काम लिएर आउने र हरेक शाखा चहार्दै हिड्नुपर्ने झन्झटिलो बाध्यताबाट सेवाग्राही मुक्त हुनेछन् । नगरवासीलाई दिइने सेवालाई अझै सकेसम्म छिटो गर्न र कुर्नुपर्ने बाध्यता हटाउन नगरपालिका लागिरहेको नगर प्रमुख कार्की बताउँछन् ।

यो सेवा अन्तर्गत अब सम्पूर्ण प्रशासनिक शाखा प्रमुखहरू एउटै स्थानमा बसेर राउण्ड टेबल प्रणालीमार्फत सेवाग्राहीको काम गरिदिने छन् । जसले गर्दा नगरपालिकाले दिने सेवा प्रक्रिया पारदर्शी हुने र नगरवासीले पनि सहज रुपमा काम सकेर फर्किन सक्ने देखिन्छ।’नगरवासीको पहुँचमा सहज सेवा पुर्‍याउने प्रतिबद्धता अनुसार यो प्रणाली कार्यान्वयन गरिएको हो’,-नगरप्रमुख कार्की भन्छन् -‘नगरवासी र अन्य नागरिकहरूले अब एउटै स्थानमा सम्पूर्ण सेवा पाउने अनि त्यो सेवा सरल र प्रभावकारी हुनेछ ।’

यसैगरी उपप्रमुख शान्ता थापाले पनि एकीकृत सेवा प्रणालीले नगरवासी उत्साही बनेको प्रतिक्रिया यसले पारदर्शी,छिटोछरितो र सहज वातावरणमा सेवा दिन सकिएको बताइन् ।

यो सेवा प्रणालीको नेतृत्व र व्यवस्थापनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नगिलाको मेहनत र सक्रियता अझै बढी देखिन्छ। उनले नगरवासीले कुनै गुनासो गर्नुनपर्नेगरी यो सेवा प्रणालीको अवधारणा ल्याइएको र नगरवासी पनि खुशी भएको आफुले पाएको बताए। नगरको निति,नियम र कानूनी दायराभित्र रही नागरिकका हक सुनिश्चित गर्दै यो सेवा सञ्चालन गरिएको उनको भनाइ थियो।

यो प्रणाली लागू भएपछि समयको बचत, अन्तरशाखा समन्वयमा सुमधुर सम्बन्ध, नीति तथा योजनाको एकीकृत कार्यान्वयन र सेवाग्राहीलाई झन्झटमुक्त र गुणस्तरीय सेवा पुग्ने प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताए। यो सेवा बिहान १० बजेदेखि दिउँसो १.३० बजेसम्म नगरपालिकाको कार्यालय डाँछीबाट प्रदान हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय