राजीनामाबारे ओलीको जवाफ : ‘अब १५ महिना पर्ख’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेलाई सार्बजनिक रुपमै जवाफ फर्काएका छन् ।
उनले अबको १५ महिनापछि पदबाट राजीनामा दिने भन्दै कसैले भन्दैमा राजिनामाको मुड नबनाएको समेत बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले राजीनामाको लागि १५ महिना कुर्नै पर्ने र त्यतिबेला कसैले नमागे पनि दिने समेत दोहोर्याए। नयाँ शक्ति भनिएकाहरुले आफूलाई कहिले राजीनामा दिने भनेर सोधिरहेको बताउँदै उनले भने, ‘मैले १५ महिनामा राजीनामा दिन्छु। प्रधानमन्त्रीको राजीनामा कहिले भनेका छन् । पर्ख, पर्ख १५ महिनामा राजीनामा दिन्छु ।’
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्ड गएको विषयलाई तोडमोड गरेर लेखिएको भन्दै त्यसमा पनि सञ्चारमाध्यमहरुप्रति असन्तुष्टि व्यक्त गरे । उनले सभापति देउवालाई १५ महिनापछि सत्ता हस्तान्तरण गर्ने कुरा पटकपटक दोहोर्याए ।
कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्किएपछि के-के न हुन्छ जस्तोगरी हल्ला चलाइएको भन्दै उनले आफुलाई सबैकुरा जानकारी भएको समेत बताए । देउवा फर्किएपछि पनि केहीपनि नहुने उनको भनाइ थियो।