आज कम्युनिस्ट पार्टी स्थापना दिवस

काठमाडौं । आज बैशाख ९ अर्थात अप्रील २२ को दिन कम्युनिस्ट पार्टीका नेता भिआई लेनिनको जन्मदिनसँगै नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिन हो।
२००६ साला बैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। यसै सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश दिदै परिवर्तनकारी शक्ति एकजुट हुन आव्हान गरेका छन् ।

न्याय, समानता तथा स्वतन्त्रताका पक्षधर सबैलाई शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले मानव जातिको सुन्दर भविष्य निर्माणका लागि इतिहासका विभिन्न कालखण्डमा भएका क्रान्ति तथा आन्दोलनमा बलिदानका कीर्तिमान राख्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले भनेका छन् -‘सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवाद स्थापनाको लक्ष्य राखेर नेपालमा वि.सं. २००६ साल (१९४९ अप्रिल २२) मा कम्युनिस्ट पार्टीको स्थापना भएको हो। कम्युनिस्ट आन्दोलनको सुरुआतसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भई उत्पीडित जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण आज हामी सामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य गर्दै समावेशी, धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएका छौं।’
उनले अगाडि भनेका छन् -‘यतिखेर एक थरी प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताका उपलब्धिहरू खोसेर नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गर्दैछन्। तर, यो उनीहरूको दिवास्वप्न मात्रै हो, किनभने संघर्षको जगमा प्राप्त उपलब्धिहरू नेपाली जनताले युगौँदेखि साँच्दै आएका सपना हुन्, जसको रक्षा र थप विकासबाट मात्रै हाम्रासामु देखिएका चुनौतीको सामना गर्दै समाजवादतर्फको यात्रामा अघि बढ्न सकिन्छ। परिवर्तनका पक्षधरहरूका लागि यो नै आजको प्रमुख राष्ट्रिय जिम्मेवारी समेत बनेको छ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय