राप्रपा नेतासँग ज्ञानेन्द्रको निवासमै ‘लन्च मिटिङ’

काठमाडौ। तत्कालीन राजा स्व.विरेन्द्र शाहका माईला भाइ एवं राजपरिवारका एक जना सदस्य ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतालाई घरमै बोलाएर ‘लन्च’ खुवाएको खुलासा भएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहित केही नेता ज्ञानेन्द्रको निजि निवास निर्मल निवासमा ‘लन्च’ खान पुगेका थिए। स्रोतका अनुसार भोलि आइतबार राप्रपाले गर्ने प्रदर्शन र यसअघिका कार्यक्रम बारे लन्च मिटिङमा कुराकानी भएको थियो।

त्यसैगरी चैत १५ को तीनकुने घटना, प्रहरी हिरासतमा रहेका धवलसम्शेर जबरा र रविन्द्र मिश्रका बारेमा पनि ज्ञानेन्द्रले चासो राखेका थिए।राजनीतिक दलहरूले तीनकुने घटनाको दोष आफुलाई लगाएको र काठमाडौं महानगरले पत्र काटेको बिषयमा समेत कुराकानी भएको बुझिएको छ। यद्यपि थप बिषय भने खुलेको छैन।

ज्ञानेन्द्रले राप्रपा अध्यक्ष लिङ्देन सहित उपाध्यक्ष बुद्धिमान तामाङ,नेता पशुपतिशमशेर जबरा,डा.प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र ज्ञानेन्द्र शाहीलगायत नेतालाई निर्मल निवास बोलाएका थिए । तर, अध्यक्ष लिङ्देन र उपाध्यक्ष तामाङ चाहिँ गएको पुष्टि भएको छ। अन्य को-को गए र लन्च खाए भन्ने खुलेको छैन। लन्चको समयमा ज्ञानेन्द्रले राजतन्त्रको पक्षमा सोचेजस्तो जनता सडकमा किन आउन नसकेको ? राजसंस्था चाहियो भनेर राजावादी समूह किन एकताबद्ध हुननसकेको ? कमल थापा, केशरबहादुर बिष्ट,नवराज सुवेदीहरुको भूमिका कस्तो हो ? भन्ने जिज्ञासा् राखेको बुझिएको छ।

ज्ञानेन्द्रको आसय चाहिँ नवराज सुवेदी नेतृत्वको जन आन्दोलन समितिलाई राप्रपाका नेताकार्यकर्ताको समर्थन हुनुपर्ने र एउटै मोर्चा बनाएर आन्दोलन हाँक्नुपर्ने भन्ने नै रहेको थियो। त्यसैगरी दुर्गा प्रसाईंको पक्राउ र हिरासत बारेमा भने ज्ञानेन्द्रले खासै चासो नराखेको पनि बुझिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय