छोरा-बुहारी सहित बैंकक जाँदै देउवा दम्पति

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार थाइल्यान्डको बैंकक जाने भएका छन् । स्वास्थ उपचार भनिएको यो भ्रमणमा उनको परिवारका सबै जाने छन् ।
परराष्ट्रमन्त्री एवं देउवा पत्नी आरजु राणा र उनका छोरा बुहारीलाई समेत साथमा लिएर देउवा बैंकक जान लागेका हुन् । उनी बैंकक जानु अघि नै सत्ता गठबन्धनमा केही सहमति गर्न चाहन्छन् । उनले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा लगभग कुरा मिलाइसकेका छन् । एमालेले अघि सारेको पात्र भन्दा फरक ब्यक्तिको नाम लिएपछि देउवाले गभर्नरमा प्रधानमन्त्री केपी शर्मा ओलीको ग्यारेन्टी मागेका थिए। जस अनुसार अब कांग्रेस कोटाबाटै राष्ट्रबैंकको गभर्नर नियुक्ति हुने पक्कापक्की भएको छ।
कुनै उतारचढाव नभएमा राष्ट्रबैंकमै हाल कार्यरत डा.गुणाकर भट्ट राष्ट्रबैंकको गभर्नर बन्ने पक्का छ। सुदुरपश्चिमका भट्ट नेपाली कांग्रेसका सभापति देउवा सहित सबैजसो नेताले मन पराएको पात्र हुन् । उनी गभर्नरका लागि योग्य र क्षमतावान पनि मानिन्छन् ।
तर,देउवा परिवारको भ्रमणलाई लिएर एमाले नेतृत्व सशंकित छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बर्तमान सरकार परिवर्तन हुने संकेत गर्दै नयाँ बर्षमा नयाँ सरकार भनेपछि राजनीतिमा तरंग पैदा भएको छ। त्यसैले देउवाको भ्रमणको बेला कुनै खेल हुनसक्ने भन्दै एमाले पङ्ती सशंकित देखिएको हो।
त्यसो त यतिबेला सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसभित्र पनि नेता शेखर कोइराला,महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा सहित धेरै नेता असन्तुष्ट छन् । प्रचण्डले सरकार लामो जादैन भन्नू र कांग्रेस भित्र असन्तुष्टि चुलिनुले एमालेलाई गम्भीर बनाएको विश्लेषकहरुको भनाइ छ।
अर्को कुरा थाइल्यान्डमा देउवा परिवार कहाँ बस्ने भन्ने कुरा गोप्य राखिएको छ। यसले पनि एमाले भित्र देउवाको भ्रमण बारे शंका बढाएको देखिन्छ। सुरुमा परराष्ट्रमन्त्री आरजु राणाको स्वास्थ्य उपचारका लागि जाने भनिएकोमा पछि सभापति देउवा पनि स्वास्थोपचारका लागि सँगै जाँने कुरा बाहिर आएको छ।
यद्यपि परराष्ट्रमन्त्री आरजु देउवाको बैंककमा हुने संयुक्त राष्ट्रसंघको इकानोमिक एन्ड सोसल कमिसन फर एसिया एन्ड प्यासिफिक (इस्क्याप) आर्थिक तथा सामाजिक आयोगको ८१ औँ बैठकको अध्यक्षता गर्ने गरी जान लागेकी हुन्। बैशाख ८ देखि १२ गतेसम्म सो कार्यक्रम बैंकक मै हुनेछ।
संयुक्त राष्ट्रसंघको बैठक होस् वा उपचारको कुरा होस् एमालेले देउवा परिवारको भ्रमणमा चासो नराख्नुपर्ने हो। तर, एमालेले यसपटक सभापति देउवाका गतिविधिलाई राम्रोसँग नियाल्ने देखिन्छ। एमाले नेतृत्व चाहन्छ देउवाको भ्रमणले गठबन्धनमा संकट नआओस् र सत्ता उलटपुलट नहोस् ।

