प्रधानमन्त्री माथी विश्वप्रकाशका शब्दका ७ गोली

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई लिएर ७ बुदामा सरकारको आलोचना गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र शर्मा झापा ५ र १ बाट निर्वाचित प्रतिनिधि हुन् । उनले सरकार चल्नुपर्ने तर कार्यशैली बदल्नुपर्ने मत राखेका छन् । फेशबुकमार्फत धारणा सार्वजनिक गर्ने क्रममा उनले विभिन्न ७ बुँदामा आफ्नो मत राखेका छन् । उनले कुलमान घिसिङलाई हटाउन नहुने काग्रेसको मतको हेक्का नराखिएको भन्दै आलोचना गरेका छन् ।

१) सामाजिक संजाल विधेयक नियमनका नाममा नियन्त्रणको नियत साथ ल्याइयो । अध्यादेशको प्रत्येक अक्षरमा संवाद गरिएको संयन्त्रमा यो विधेयक ल्याउनु पूर्व कुनै संवाद भएन ।

२) कुलमान प्रकरणमा हटाउनुहुन्न भन्ने कांग्रेस भित्रको फरक मत र आम जनमतको हेक्का राखिएन । असन्तुष्टिको आगोमा चरु हाल्नुहुन्न भन्ने सजगता सरकारमा देखिएन ।

३) शिक्षक आन्दोलनको माग सम्बोधन गर्न ढिलाइ हुँदै गएको छ। सरकारले निर्णय गर्न मिल्ने बुँदाहरुमा महासंघलाई विश्वासमा लिएर अविलम्ब निर्णयमा पुग्नुपर्छ, विधेयक मार्फत टुंगोमा पुग्ने बुँदाहरुप्रति साझा प्रतिबद्धता गर्न सकिन्छ, गरिनुपर्छ ।

४) अख्तियार सम्बन्धी विधेयक राज्यव्यवस्था समितिले उपसमिति मार्फत करिब टुंगोमा पुऱ्याएको थियो, यसलाई निर्देशित रूपमा ‘होल्ड ‘ गराउने कार्य आलोच्य भएको छ र यो अनुचित छ ।

५) त्रिवि उपकुलपतिले पदत्याग गर्नुपर्ने अवस्था आउनु र फेरिपनि त्रिविमा बेथितिले प्रश्रय पाउनु जुनकुनै कोणबाट पनि गलत भएको छ ।

६) राष्ट्र बैंकको गभर्नर नियुक्तिको बिषयसँग गाँसिएर अनेक थरी प्रश्न उठिसक्दा नियुक्तिमा अझै अलमल जारी रहनु दुःखद छ । मौद्रिक नितिको नेतृत्व गर्ने, समग्र बैंकिङ क्षेत्रको नियामक संस्थाको नेतृत्व चयनमा संवेदनशील अग्रसरता नदेखिनु सरकारको सक्षमता माथिकै प्रश्न हो ।

७) नेपाल प्रहरीको एआइजी पदमा ६ वटा दरबन्दी रिक्त भएको महिना दिन पुग्न लाग्दा समेत नियुक्तिमा अलमल छ, सरकारले यस्तो विलम्बबाट प्रशंसा हासिल गर्न सक्दैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय