रविन्द्र र धवल छुट्ने, दुर्गा प्रसाईंलाई गाह्रो !

काठमाडौं । चैत १५ को तीनकुने घटनामा पक्राउ परेका राप्रपा महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर राणा र उपाध्यक्ष रविन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्ने बारे सरकारले परामर्श थालेको छ।
राजावादीहरुको प्रदर्शनका क्रममा चैत १५ मा तीनकुनेमा २ जनाको हत्या सहित करोडौं सम्पत्तिमा तोडफोड र लुटपाट भएको थियो। त्यस कार्यक्रमका मुख्य आयोजक नवराज सुवेदी नजरबन्दमा छन् भने कमान्डर दुर्गा प्रसाईं तीन दिन अघि पक्राउ परेका छन् । तर,राप्रपा महामन्त्री राणा र उपाध्यक्ष मिश्र सहित ७१ जना हिरासतमा छन् ।
उक्त घटनाको कमान्डर भएकोले मुख्य अभियुक्त भनिएका दुर्गा प्रसाईँ पक्राउ परिसकेको सन्दर्भमा कांग्रेस र एमालेको शीर्ष नेतृत्व पनि राणा र मिश्रलाई रिहा गर्ने पक्षमा देखिएपछि गृह मन्त्रालयले सोही अनुसार छलफल गरेको स्रोतले बतायो। यद्यपि गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुखले पनि यसमा सहमति जनाएको बुझिएको छ।
अर्को कुरा चैत १५ गते साँझ पक्राउ परेका राणा र मिश्रसँग प्रहरीले अहिलेसम्म बयान लिएको छैन । उनीहरूलाई म्याद थप गर्दै राखिएको छ । उच्च राजनीतिक नेतृत्वबाट आउने आदेश अनुसार मुद्दामा अनुसन्धान हुनसक्ने अनुमान गरिएको छ।
यता, सोही घटनाको मुख्य कमान्डर दुर्गा प्रसाईंको भने छुट्ने संभावना न्यून रहेको जानकारहरु बताउँछन् । सरकार विरुद्ध,प्रधानमन्त्री विरुद्ध र शिर्ष सबै नेता विरुद्ध अनावश्यक लान्छना सहित आक्रोश व्यक्त गर्दै आएका प्रसाईंलाई छाड्न वा अनुसन्धान नगर्न कतैबाट दबाब आएको छैन। त्यसैले पनि प्रहरीले दुर्गा विरुद्धका धेरै प्रमाणहरुको आधारमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ। राणा र मिश्र हाजिरी जमानीमा छुटेपनी प्रसाईं छुट्ने कुनै संकेत छैन।

