प्रहरी भन्छ-‘दुर्गा प्रसाईंलाई खोज्दै छौं’

काठमाडौं । चैत १५ को तीनकुने घटनापछि ‘फरार’ सूचीमा रहेका राजावादी आन्दोलनका कमान्डर एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारतको आसाममा पक्राउ परेको कुरा नेपाल प्रहरीले स्वीकार गरेको छैन ।

बिहीबार राति नेपाल प्रहरीले एक विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ। यद्यपि प्रसाईंका समर्थकले भने उनी आफैंले आत्मसमर्पण गरेको हल्ला चलाइरहेका छन् । केही समाचार स्रोतले नेपाल-भारत बोर्डरमा ल्याएर भारतिय प्रहरीले छाडेको समेत भनेका छन् ।

यसले घटनामा प्रसाईंले नै थप अल्मलाउन खोजेको र सरकारलाई उल्लु बनाएको देखिन्छ। दुई दिन अघि नेपाल मै छु भन्दै भिडियो लाइभमा आएका प्रसाईंले जीवनको सुरक्षा भए २४ घन्टामा उपस्थित हुन्छु भनेका थिए। त्यसको २४ घन्टा नबित्दै भारतमा पक्राउ परेको हल्ला पनि उनकै समर्थकले फैलाएको देखियो।

विभिन्न सञ्चार माध्यमहरूमा ‘दुर्गा प्रसाईं पक्राउ’ भन्ने शीर्षकमा समाचारहरू प्रकाशन भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी दिनेश कुमार आचार्यले प्रसाईं हालसम्म पक्राउ नपरेको जानकारी दिएका छन्।

प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईं पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ। विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं।’

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय