७ बर्षपछि पासाङको राजनीतिमा ‘कम्ब्याक’

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई नेकपा (माओवादी केन्द्र)ले उपाध्यक्षको जिम्मेवारी दिएको छ ।
पार्टीको निर्णय पछि झण्डै ७ बर्ष सम्मानित पदमा रहेका पासाङको राजनीतिमा कम्ब्याक भएको छ। उपराष्ट्रपति निर्वाचित हुनु अगाडि पदाधिकारी समेत नरहेका उनलाई माओवादी पदाधिकारी बैठकले एकैपटक पार्टी सदस्य सहित बढुवा गरेर उपाध्यक्ष मनोनीत गरेको हो।
पार्टी सचिव दिनानाथ शर्माका अनुसार पुर्व उपराष्ट्रपति पासाङलाई पार्टी सदस्य,केन्द्रिय सदस्य र उपाध्यक्ष एकै पटक बनाइएको हो। २०७४ मा उपराष्ट्रपति भएपछि ७ बर्ष उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्ने ठाउँमा थिए। अहिले उनी अध्यक्ष प्रचण्ड र बरिस्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भन्दा तल्लो तहको उपाध्यक्ष भएका छन् । यद्यपि उपाध्यक्षमा पनि उनि सिनियर उपाध्यक्ष होइनन् । उनी भन्दा सिनियर अग्नि सापकोटा र कृष्णबहादुर महरा छन् । सापकोटा र महरा पनि पुर्व सभामुख भैसकेका नेता हुन।
उपराष्ट्रपति बनिसकेका पुन केही समयदेखि माओवादीको बैठकहरूमा सहभागी हुने गरेका थिए । जसअनुसार पार्टीले उनलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको थियो । माओवादीमा पासाङको इण्ट्रीसँगै अब पुर्व राष्ट्रपति विद्या भण्डारीलाई पनि नेकपा एमालेको राजनीतिमा कम्ब्याक हुन सहज हुनेछ। भण्डारी पनि एमालेको सक्रिय राजनीतिमा फर्किने तयारीमा रहेको बुझिएको छ।

