तीनकुने घटनाबारे प्रहरी : ५८ राउन्ड गोली चल्यो,२० जनालाई लाग्यो


काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रहरीले ५८ राउन्ड गोली चलाउन परेको र त्यसमा २० जनालाई गोली लागेको तथ्य बाहिर आएको छ।

राजावादी आन्दोलनमा निस्केका दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनकारी समूह र प्रहरी बिचको झडपमा एक जनाको ज्यान गएको थियो। प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका-४ का सविन महर्जनको मृत्यु भएको थियो। प्रदर्शन स्थलमा गोली लागेका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।

प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै तीनकुने घटनामा प्रहरीको गोली लागेर घाइते भएका २० जनामध्ये ७ जना डिस्चार्ज भइसकेको र अन्य १३ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। प्रहरीका अनुसार गोली लागेकामध्ये १८ जना पुरूष र २ जना महिला छन् ।

त्यसैगरी केन्द्रीय प्रहरी प्रवक्ताका अनुसार तीनकुने घटना नियन्त्रणमा लिन ७४६ सेल अश्रुग्यास प्रहार गरिएको थियो। १९८ राउन्ड व्ल्याङ् राउन्ड (गोली नभएको आवाजमात्रै निकाल्ने) चलाइएको थियो। त्यस्तै पेस्तोलबाट दुई राउन्ड गोली चलाइएको पनि प्रहरीले जानकारी दिएको छ।

सो प्रदर्शनको क्रममा भएको आगजनीमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक मृत फेला परेका थिए। उनको मृत्युको कारण बारे अनेक हल्ला फैलिएको भएपनी अन्ततः उनको जलेर मृत्यु भएको पोस्टमर्टम रिपोर्टले देखाएको छ।

सोही दिन प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रयास गरेपनी उनी भाग्न सफल भएका थिए। प्रसाईं हाल फरार छन् । उनले काठमाडौं कै कुनै मन्दिरमा रहेको फेसबुक लाइभमा बताएपनी उक्त मन्दिर काठमाडौमा नभएको प्रहरी भनाइ छ। आन्दोलनकै क्रममा प्रदर्शन स्थलमा भिड भड्काएको आरोपमा पक्राउ परेका राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सहित ५० भन्दा बढी अहिले पनि प्रहरी हिरासतमा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय