सिस्नेरी खोलामा नुहाउन गएका ३ बालकको मृत्यु


काठमाडौं । मकवानपुरमा खोलामा नुहाउने क्रममा अचानक डुब्दा तीन बालकको ज्यान गएको छ। ती मध्य २ बालक मामाघर गएका थिए।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित सिस्नेरी खोलामा नुहाउन गएका उनीहरूको अचेत अवस्थामा उद्दार भएको थियो। तर,उनीहरुको डुबेर नै मृत्यु भएको पुष्टि भएको छ।

मृत्यु हुनेमा सोही स्थानका श्यामबहादुर आचार्यका १२ वर्षीय छोरा सुसन आचार्य र अन्य दुई १५ वर्षका भान्जाहरू प्रविन घोरासैनी र प्रविस घोरासैनी रहेका छन्। काभ्रे घर भएका प्रविन र प्रविस दुई दिनअघि मात्रै मामाघर मकवानपुर सिस्नेरी गएका थिए।

स्कुल बिदा भएपछि बिदा मनाउन मामाघर गएका उनीहरु मामाको छोरा अर्थात् सुसनसँगै नुहाउनका लागि खोलामा गएका थिए। सोही वडाका वडाध्यक्ष प्रताप भोम्जनका अनुसार प्रविन र प्रविस जुम्ल्याहा दाजुभाइ हुन्। तिनै जना आफन्त हुन् ।

गत असोजमा आएको बाढीले बनाएको खोलाको खाल्टोमा डुबेर उनीहरुको मृत्यु भएको वडाध्यक्ष भोम्जनले जानकारी दिएका छन् ।‘तीनजना खोलामा नुहाउन भनेर निस्किएछन्,’ उनले भने, ‘अबेरसम्म पनि घर नफर्किएपछि परिवार हेर्न जानुभएछ। खोलाको किनारमा कपडा र चप्पल देखिए पनि बालकहरु नदेखे पछि डुबेको शंकामा खोजतलास गर्दा डुबेको अवस्थामा भेटियो।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय