रविन्द्र मिश्र, धवलशमसेर, स्वागत नेपालसहित ५१ पक्राउ, प्रसाईं फरार

काठमाडौं । राजावादी आन्दोलनमा बबण्डर मच्चाएर दुर्गा प्रसाईं फरार भएका छन् । उनकै कारण २ जनाको ज्यान गयो भने ११२ जना घाइते छन् । निजि भवन, पार्टी कार्यालय सहित १६ ठाउँमा ढुंगामुढा, लुटपाट र आगजनी भएको छ।

शुक्रबार संघीय राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनमा यी सबै घटना भएका हुन् । घटनामा संलग्नलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। अहिलेसम्म राप्रपा र दुर्गा प्रसाईं समर्थित ५१ नेताकार्यकर्ता पक्राउ परेका छन् ।

राती प्रहरीले राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहितका नेताकार्यकर्ता पक्राउ गरेको छ। अझै केही नेताकार्यकर्ताको खोजी भैरहेको छ। यसैगरी अधिबक्ता स्वागत नेपाल पनि पक्राउ परेको प्रहरीले जनाएको छ। राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी भने नजरबन्दमा परेका छन् ।

काठमाडौं प्रहरीले राती सम्म खोजी गर्दा पनि आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न सकेको छैन। तिनकुनेमा भाडभैलो मच्चाएपछी उनी फरार भएका थिए। गाडी लिएर निस्केका प्रसाईं मोबाइल अफ गरेर फरार छन् । यद्यपि राती उनले फेसबुकमा ‘म रहे पनि नरहेपनी आन्दोलन जारी राख्नु’ भनेर आन्दोलनकारीलाई पुनः उक्साएका छन् ।

काठमाडौं प्रहरीले शुक्रबारको घटनाबारे थप अनुसन्धान गरिरहेको छ। काठमाडौं प्रहरीले यस प्रकारका ‘अमानवीय, अमर्यादित तथा गैरकानुनी आपराधिक’ गतिविधिमा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याई कानुनअनुसार कारबाही गरिने जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय