१५ गते शक्ति देखाउने ठाउँ : गणतन्त्रवादीलाई भृकुटीमण्डप,राजावादीलाई तिनकुने

काठमाडौं। चैत १५ गते काठमाडौं केन्द्रित दुई छुट्टाछुट्टै प्रदर्शन हुने भएको छ। एकातिर विपक्षी दल सहितको गणतन्त्र पक्षधर र अर्काेतिर राजावादी दल र समूहले चैत १५ मा काठमाडौं ठप्प पार्ने चेतावनी दिएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमसँगै कुलमान घिसिङ बर्खास्तीको मुद्दा समेत लिएर सडकमा आउन लागेका गणतन्त्रवादी र राजावादीले सरकार विरुद्ध ऐ लक्षित गरि आन्दोलन गर्ने भएका छन् । यद्यपि यसअघि गणतन्त्रका पक्ष र विपक्षमा मात्रै प्रदर्शन हुने कुरा थियो। जसमा राजा र राजसंस्था फर्काउने र फर्काउन नदिने कुरा मात्रै थियो। कुलमान प्रकरणले दुबै प्रदर्शनमा सरकारको आलोचना हुने भएको छ।
काठमाडौँमा एकैदिन प्रदर्शन हुनेेेएपछी प्रदर्शनकारीलाई छुट्टाछुट्टै ठाउँ तय गरिएको छ। जसमा समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), महेन्द्र यादव समूह र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्नेेछन् भने राजावादी समूहले तिनकुनेमा प्रदर्शन गर्ने भएको छ।
राजावादी समूह भित्र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले नेतृत्व गर्ने र त्यसमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ सहित राप्रपा र राप्रपा नेपालले पनि प्रदर्शनमा साथ दिने छन् । त्यो समूहले तिनकुनेमा आफ्नो कार्यक्रम गर्नेछ।
त्यसैगरी गणतन्त्र पक्षधर समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन र सभा गर्न स्थानीय प्रशासनसँग अनुमति लिएको छ । जसमा माओवादी केन्द्र,एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सहभागी हुनेछन् । उनीहरुको प्रदर्शनमा देशभरबाट नेताकार्यकर्ता ल्याउने तयारी समेत छ। प्रदर्शनलाई भब्य बनाएर राजावादी तर्साउने र सरकारलाई गलाउने मोर्चाको चाहना देखिन्छ।
दुबै क्षेत्र काठमाडौं मै पर्ने भएपनी काठमाडौंका प्रमुख जिल्ला अधिकारी सहित ललितपुर र भक्तपुरका सुरक्षा निकायलाई पनि चनाखो राख्ने गृहमन्त्रालयको तयारी छ। त्यसदिन अराजक ब्यक्तिको घुसपैठ र हुनसक्ने तोडफोड बारे पनि सुक्ष्म निगरानी हुनेछ। सडकमा सुरक्षाकर्मी तैनाथसँगै ड्रोन मार्फत पनि निगरानी राखिने सुरक्षा प्रमुखहरुको तयारी छ। समाजवादी मोर्चाले भृकुटीमण्डपमा र राजावादी समूहले तीनकुनेमा प्रदर्शन गर्नेबारे जानकारी आइसकेको तर, अन्य ठाउँमा पनि कार्यक्रम हुनेबारे जानकारी नभएको काठमाडौँका प्रमुख जिल्ला अधिकारीको भनाई छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी भन्छन्-, ‘समाजवादी मोर्चा र दुर्गा प्रसाईं नेतृत्वको समूहसँग समन्वय भएको छ, अन्यत्रको प्रदर्शन हाम्रो जानकारीमा छैन ।’ प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । राजावादी र गणतन्त्रवादी भनेर गरिन लागेको कार्यक्रममा कुलमान घिसिङलाई हटाइएको बिरोध भने दुबै समूहले गर्नेछन् ।

