सानोबुबाले प्लेन हाइज्याक गरेको बुबालाई थाहै थिएन- डा.शशांक

काठमाडौ। नेपाली कांग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाले २०३० सालमा जहाज अपहरण गरेको कुरा उनका दाजु स्व.बिपी कोइरालालाई पछि मात्रै जानकारी भएको खुलासा भएको छ।
बिपी पुत्र एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले मंगलबार एक कार्यक्रममा यस्तो खुलासा गरेका हुन् । सानोबुबा गिरिजाप्रसाद कोइरालाले आफ्नो बुबा विश्वेश्वरप्रसाद (बिपी) कोइरालालाई थाहै नदिई ‘प्लेन हाइज्याक’ गरेको भन्दै डा.शशांकले सो कुरा बताए।
स्व.गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुबा’ शीर्षकको आत्मकथा विमोचन कार्यक्रममा डा. शशांक कोइरालाले पहिला प्लेन हाइज्याक गरेपछि मात्रै सानोबुबा गिरिजाबाबुले बिपीलाई जानकारी दिनुभएको आफ्नो स्मरणमा रहेको सुनाएका थिए। पार्टी सभापति शेरबहादुर देउवा,दाजु एवं कांग्रेस नेता डा.शेखर कोइराला र अन्य नेताकार्यकर्ताको अगाडि शशांकले सानोबुबा गिरिजालाई यसरी संझिए।
‘सानोबुबाले बुबालाई थाहै नदिई प्लेन हाइज्याक गर्नुभएको हो,’कार्यक्रममा डा. कोइरालाले भने, ‘राति प्लेन हाइज्याक भयो । अर्कोदिन बिहान उहाँले बुबालाई आएर भन्नुभयो, सान्दाजु मैले त प्लेन हाइज्याक गरे ।’
गिरिजाको कुरा सुनेपछि बिपीले किन त्यस्तो गरेको भनेर सोधेको पनि उनले बताए । डा. कोइरालाले भने, ‘किन नसोधी त्यस्तो काम गरेको भन्नुभयो । जवाफमा सानोबुबाले पैसा नभएर गाह्रो भएपछि हाइज्याकिङ गरेको जानकारी गराउनुभयो । जनताको पैसा जनताका लागि खर्च गरौँ भन्ने उद्देश्य हो भन्नुभयो ।’
डा.शशांकको कुरा कार्यक्रममा उपस्थित सबैले चाखलाग्दो गरि सुनेका थिए। नेपाली कांग्रेसमा निष्ठावान र ईमानदार नेता मानिएका डा.शशांकले सधैं सत्य कुरा मात्रै बोल्ने गर्दछन् । उनी आगामी १५ औं महाधिवेशनमा सभापति उठ्ने चर्चा पनि छ।

