जागरण अभियान स्थगित गरेर प्रचण्ड काठमाडौंमा

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्गकेन्द्रित तराई-मधेस जागरण अभियान पुनः स्थगित भएको छ। यसअघि बाराबाट पुर्व सकेर स्थगित भएको अभियान बारा बाटै सुरु भएर चितवन पुगेर स्थगित भएको हो।
गत फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो।उक्त अभियान गत बिहीबारदेखि बाराबाटै पुनः सुरू भएको थियो।
चितवनसम्म आइपुगेको अभियान सोमबारदेखि स्थगित भएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। केही दिनपछि पुनः सुरु भएर कन्चनपुर सम्म पुग्ने एक नेताले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न आज काठमाडौ फर्किएका प्रचण्डले चैत १५ को कार्यक्रमपछि पुनः जागरण अभियान सुरु गर्ने बुझिएको छ। त्यसैगरी माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौं राजावादी विरुद्ध भण्डाफोर गर्दै गणतन्त्रको पक्षमा प्रदर्शन र सभा गर्दैछ।
त्यसको तयारीका लागि जागरण अभियान केही दिनका लागि स्थगित गरिएको माओवादीले जनाएको छ। काठमाडौंको कार्यक्रम सकिएपछि माओवादीले बैठक गरेर पुनः अभियानलाई निरन्तरता दिनेछ।
अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भएको छ। अब गण्डक क्षेत्र हुँदै सुदूरपश्चिमसम्म अभियान अन्तर्गका कार्यक्रम हुनेछ। नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर बाँकी छ।

